आज एकैदिन काग र कुकुर तिहार मनाइँदै


काठमाडौं । हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चक अन्तर्गत आज काग तिहार र कुकुर तिहार मनाइँदै छ । हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीको दिन देखि तिहार पर्व सुरु हुने गर्दछ ।

यसवर्ष यमदीपदान भने हिजो साँझदेखि सुरु भएको छ । तर काग तिहार र कुकुर तिहार भने आज परेको छ । आज बिहान सवा ७ बजेसम्म त्रयोदशी तिथि लाग्ने भएकाले त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार पर्व मनाउने गरिन्छ । साँझ सवा ७ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा पनि आज नै गर्नु पर्नेछ ।

तिथिको घटबढका कारण काग र कुकुर तिहार आज एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ । धार्मिक मान्यता अनुसार यमराजको सन्देश वाहकको रुपमा मानिएको कागलाई यमदूतकै रुपमा लिई विहानै कागलाई पूजा अर्चना गरेर मीठा चीजबीच खान दिएर यो पर्व मनाइदै छ ।

यस्तै आजै कुकुर तिहार पनि मनाइदै छ । सबै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गर्ने गरिन्छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने धार्मिक मान्यता छ ।

प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ । यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने र कुकुरलाई भैरवको बहान पनि भनिन्छ ।

तिहारको पहिलो दिन कागको पुजा गरेर काग तिहार मनाएपछि चतुर्दशीका दिन कुकुर तिहार, कात्र्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, तथा अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाउने गरिन्छ ।

प्रकाशित : २०७८ कार्तिक १७, बुधबार ०५:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ