आइसिसी टि–२० : अस्ट्रेलियाको चौथो जित, सेमिफाइनलमा पुग्ने पक्का !


आइसिसी टि-२० विश्वकपमा अस्ट्रेलियाले चौथो जित हात पारेको छ । अस्ट्रेलियाले सुपर १२ को समूह ‘१’ अन्तर्गत शनिबार भएको खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको हो ।

१५८ रनको विजयी लक्ष्य अस्ट्रेलियाले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि डेविड वार्नरले उत्कृष्ट प्रदर्शन गरे । ५६ बलको सामना गरेका उनी ९ चौका र ४ छक्काको मदतमा ८९ रनमा अविजित रहे । ३२ बलको सामना गरेका मिचेल मार्शले ५ चौका र २ छक्कासहित ५३ रन बनाए । बलिङमा क्रिस गेल र अकिल हुसेनले १/१ विकेट हात पारे ।

अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५७ रन जोडेको थियो । उसका लागि कप्तान किरोन पोलार्डले सर्वाधिक ४४ रनको योगदान दिँदा इभिन लुइसले २९ तथा सिमरोन हिटमायरले २७ रनको जोडे । बलिङमा जोश हेजलउडले ४ विकेट हात पारे भने मिचेल स्टार्क, प्याट कमिन्स तथा एडम जम्पाले १/१ विकेट लिए ।

जितसँगै अस्ट्रेलियाले ५ खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा रहँदै सेमिफाइनलको सम्भावना बलियो बनाएको छ । सुपर १२ बाटै बाहिरिएको साविक विजेता वेस्ट इन्डिज भने ५ खेलमा २ अंक जोडेर आफ्नो समूहको चौथो स्थानमा रह्यो ।

प्रकाशित : २०७८ कार्तिक २०, शनिबार २०:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ