पत्नीको स्मृतिमा महेश चौधरीद्वारा ५१ हजार राशिको पत्रकारिता पुरस्कार घोषणा


धर्मेन्द्र पासवान, लहान :
‘प्रेमक नाजुक बन्धन तोइर नै देब…..२,
सजनी कहियो हमरसंग छोइर नै देब’
अँहा बिनु एको पल रहि नै पायब,
जिबते जी अँहा बिन मरि जायब’
यो गीत महेश चौधरी र संगिता कर्माचार्यकै लागि बनेको छ जस्तो लाग्दथ्यो । तर यो गीत महेश र संगिताको लागि केही दिनको लागि मात्र रहेको साबित भयो जब महेशले आफ्नो प्राण भन्दा प्यारो जीवनसाथी गुमाउनु पनि पर्‍यो । जसको कारक बन्यो समाजसेवा ।

प्रथम चरणको कोरोना महामारीबाट विश्व नै आतंकित भएको बेला देखि नै महेश र संगिताले आफ्नो व्यक्तिगत लगानीमा विपन्न, दलित, गरिब, असहाय, अपांग, एकल महिलाहरुलाई राहत वितरण गर्न सुरु गरेका थिए ।
बैशाख २८ गते आमाको मुख हेर्ने दिन लहान नगरपालिका-१३ नं. वडाका मागेर खाने र एकल महिला सानो तिनो चियापसल गर्ने २१ जना महिलाहरुलाई श्रीमान श्रीमती मिलेर नै साडी बाँडेको थियो, त्यही दिन देखि नै महेशकी श्रीमती संगिता बिरामी भएकी थिइन् ।

राहत वितरण गर्ने बेलामा कोबाट कसरी कोरोना सर्‍यो भने थाहै नपाइ उपचारको क्रममा संगिता कर्माचार्यको मृत्यु २०७८ जेष्ठ २२ झापाको एक अस्पतालमा भएको थियो । तिनै जीवनसाथी संगिता कर्माचार्यको नामबाट महेश चौधरीले सिरहामा नगद ५१ हजार राशिको ‘संगिता कर्माचार्य स्मृति पत्रकारिता पुरस्कार’ घोषणा गरेका छन् । आगामी मंसिर महिनाको २२ गते एक जना सिरहाका उत्कृष्ट पत्रकारलाई सो पुरस्कार प्रदान गरिने भएको छ ।

उक्त पुरस्कार सिरहाका सञ्चारकर्मीहरुको योगदानलाई नेपाल पत्रकार महासंघ सिरहा शाखाको सिफारिस, एकजना बाहिरको विज्ञ र संगिता कर्माचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष महेश चौधरीले कुन उत्कृष्ट सञ्चारकर्मीलाई दिने भनी निर्णय गर्ने छ । र यसलाई निरन्तरता दिनका लागि ‘संगिता कर्माचार्य स्मृति प्रतिष्ठान’ वार्षिक रु. ५१ हजार राशिको नगद पनि उपलब्ध गराउनेछ ।

कार्तिक २२ गते संगिता कर्माचार्यकै स्मृतिमा ‘बानो गोल्ड कप’ फुटबल टुर्नामेन्टको सम्पुर्ण खर्च महेश चौधरीले बेहोर्ने छ । जसका लागि प्रथम पुरस्कार रु. ५० हजार दोस्रो पुरस्कार ३० हजार लगायत खेलाडीहरुले पाउने सम्पुर्ण सुविधाहरू ‘संगिता स्मृति प्रतिष्ठान’ले प्रदान गर्ने प्रतिष्ठानका अध्यक्ष समाजसेवी महेश चौधरीले जिकिर गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहा शाखाका निवर्तमान अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताले शाहजहाँले पत्नी मुमताजको वियोगमा ताजमहल बनाएका थिए, सलहेसले प्रेमिका चन्द्रावतीको कारण युद्ध नै लडेका कुराहरुको उदाहरण दिंदै समाजसेवी चौधरीको खुला मुखले प्रशंसा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्षता मनोज बनैताले गरेका थिए । भने विशिष्ट अतिथिको उपाध्यक्ष गनेश साह विभिन्न संचार माध्यममा आबद्ध सिरहाका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सिरहाको लहान नगरपालिका निवासी समाजसेवी महेश चौधरीको श्रीमतीको देहावसान २०७८ जेष्ठ २२ गतेमा भएकोले श्रीमती संगिता कर्माचार्यको नामबाट प्रत्येक महिनाको २२ गते थोरै भएपनि केही न केही बाँड्ने घोषणा गरि, राहत वितरण कार्यलाई भने निरन्तरता दिंदै आएको छ ।

सकेसम्म कुनैपनि मान्छेले खाना खान नपाएर मर्न नपरोस्, लहान नगरपालिका क्षेत्र भित्रका गरिब, दलित, असहाय, अपांग, एकल महिला तथा सामाजिक रुपले पछाडि पारिएकालाई राहत बाड्न कहिले पनि पछाडि नपर्ने समाजसेवी चौधरीको धारणा रहेको छ ।

उनको श्रीमती संगिता कर्माचार्य र राहत वितरणमा नजिकैबाट सहयोग गर्दै आइरहेको नजिकैको भाइ दिपेन्द्र सिंहले कोरोनाकै कारण ज्यान गुमाउनुपरेको थियो । महेश र संगिताको जोडीलाई लहानका नागरिकले भने ‘मस’ जोडीको उपमा दिएको थियो । र यो जोडीलाई असाध्यै रुचाइएको पनि थियो ।

तर, यो जोडिबाट ‘स’ भनेको संगिता सधैंको लागि अस्ताइन । जसको कारण महेशलाई यो दु:खद घडीबाट बाहिर निस्किन भने अप्ठ्यारो भएको थियो । यस्तो घडीमा जीवनसाथी गुमाउनु परे पनि जनताको सेवा गरेर आत्म सन्तुष्टि मिल्ने गरेको समाजसेवी चौधरीको धारणा रहेको छ ।

समाजसेवी चौधरीले लहान नगरपालिका लगायत सिरहाको अन्य ठाउँहरुमा पनि अहिलेसम्म ४ हजार परिवारलाई राहत वितरण गरिसकेको छ । जसको लागि उनले आफ्नो गोजीबाट ७०/८० लाख हाराहारीको खर्च गरि सकेका छन् भने, साथीभाइको सहयोगमा भने एक करोड भन्दा माथि नै खर्च गरिसकेका समाजसेवी चौधरीले टुडे खोजलाई बताए ।

महेश चौधरीको समाजसेवा देखेर लहान नगरपालिकामा उनलाई भावी नगर प्रमुखको रुपमा जनमानसमा देखिन थालेको छ । नेपाली काँग्रेस पार्टीसंग आवद्ध रहेका चौधरीले आफुलाई विश्वास गरेर पार्टीले स्थानीय तहको चुनावमा टिकट दिए भने पछाडी नहट्ने समेत दावी गरेका छन् ।

प्रकाशित : २०७८ कार्तिक २२, सोमबार ०८:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ