जनकपुरमा हिन्दु र मुस्लिमबीच तनाब, प्रशासनले लगायो कर्फ्यू


धनुषा । जनकपुरधामका केही स्थानमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । केही दिअघि छठघाट बनाउने क्रममा जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठामा हिन्दु र मुस्लिम धर्मावलम्बीबीच भएको विवादले सामाजिक सद्भाव बिथोल्ने अवस्था देखिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ उपदफा ३ (क) बमोजिम कुनै प्रकारका भेला, जुलुस, प्रर्दशन, घेराउ, र्याली, सभाजस्ता गतिविधि गर्न नपाउनेगरी शनिबार दिउँसो २ बजेदेखि आइतबार राति १० बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो ।

पूर्वमा जलाद नदीको कल्टी बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिए ।

सो ठाउँमा केही समूहले साम्प्रादायिक सद्भावमा खलल पुग्ने खालका नारा, जुलुस, हुलहुज्जत गरिरहेको बुझिएकोले शान्ति सुरक्षा कायम गर्न केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको उनले बताए । पछिल्लो केही वर्षयता सो स्थानमा वर्षमा एक/दुईपटक दुई धर्मावलम्बीबीच चाडपर्वका बेला विवाद हुने गरेको छ ।

प्रकाशित : २०७८ कार्तिक २७, शनिबार १६:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ