सकियो चतुर्मास, विवाह-व्रतबन्धको सिजन शुरु


जनकपुरधाम । आषाढ शुक्ल एकादशीदेखि शुरु भएको चतुर्मास सोमबारदेखि सम्पन्न भएको छ । भगवान् विष्णु क्षीर सागरमा सुतेको बेला अर्थात् चर्तुमासभर विवाह, व्रतबन्ध जस्ता कुनैपनि मांगलिक कार्य गरिँदैन ।

कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीपछि मात्र मंगल लगन तथा मुहूर्त हेरी यस्ता शुभकार्य गरिन्छ । हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने २४ वटा एकादशीमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रूपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ ।

हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसी भगवान् विष्णुको आराधना गरिन्छ । आषाढ शुक्ल एकादशीको दिनबाट भगवान विष्णु क्षीर सागरमा सुत्ने र कात्तिक शुक्ल एकादशीको दिनमा उठ्ने विश्वास रहेको छ । यो एकादशीको महत्वको बारेमा भविष्य पुराणमा उल्लेख छ ।

हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलमा मेला लाग्ने गर्छ । यस दिन सुनसरीको बराह क्षेत्र र काठमाडौंको बुढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशंखुनारायण, इचंगुनारायण र शेषनारायणमा विशेष मेला लाग्छ ।

महाभारतमा कहिल्यै भोको नबस्ने भीमसेन पनि यस दिन व्रत बसेका थिए भन्ने उल्लेख छ । त्यसैलै अरू दिनमा व्रत बस्न नसक्नेहरूले समेत ठूलो एकादशीको दिनमा भने व्रत बस्नुपर्छ भन्ने मान्यता छ । – अनलाइनखबर

प्रकाशित : २०७८ कार्तिक २९, सोमबार ०७:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ