राजेन्द्र महतोले मागे प्रधानन्यायाधीश जबराको राजीनामा


वीरगन्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले न्यायालयलाई असफल हुनबाट जोगाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अविलम्ब राजीनामा दिनुपर्ने बताएका छन् ।

वीरगन्जमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता महतोले यस्तो धारणा राखेका हुन् । न्यायालय असफल भए देश पनि असफल हुने भएकाले प्रधानन्यायधीश जबराले पदबाट राजनीनामा दिनुपर्ने उनले बताए ।

महत्तोले भने,‘ देशभरका कानुन व्यवसायीहरु आन्दोलनमा छन्,सर्वोच्चका न्यायाधीश पनि जबराको विरोधमा छन्, अदालत धेरै दिनदेखि ठप्प छ , जनता न्याय पाउनबाट बञ्चित छन्। यस्तो अवस्थामा न्यायालयलाई बन्दी बनाएर राख्नु उचित हुँदैन,जबराले अविलम्ब राजीनामा दिएर न्यायालय र देशलाई असफल हुनबाट जोगाउनुपर्छ ।’

न्यायालयप्रति जनताको भरोसा टुटे देश पनि असफल हुने खतरा रहेको उनले बताए । न्यायालय सेटिङमा चलिरहेको र त्यसको प्रमुख जिम्मेवार प्रधानन्यायधीश जबरा नै भएको भन्दै लोसपाका नेता महत्तोले जबराले सेटिङमै फैसला गर्दै आएका कारण नै कानुन व्यवसायी र न्यायाधीशहरुले जबराको राजीनामा मागेको बताए ।

त्यसैले अब पनि न्यायालयको गरिमा र साख बचाउनुछ भने प्रधानन्यायाधीश जबराले अविलम्ब राजीनामा दिएर निकास दिनुपर्ने महतोको भनाइ छ । महत्तोले कांग्रेस, एमाले र माओवादीले पनि सेटिङमा न्यायालयलाई चलाइरहेको आरोप पनि लगाएका छन् ।

प्रकाशित : २०७८ कार्तिक ३०, मंगलवार १८:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ