गोलबजारमा भइरहेको सडक कालोपत्रेमा व्यापक अनियमितता


मिथिलेश यादव, लहान । सडक डिभिजन कार्यालयले ठेकेदारमार्फत गर्दै आएको कालोपत्रेको काममा व्यापक अनियमितता भएको पाइएको छ । सिरहाको गोलबजार नगरपालिका ६ गोलचक्करदेखि उत्तर लामाटोलसम्म भइरहेको कालोपत्रेको काम बेसदेखि पिचसम्म कमसल सामग्री प्रयोग गरी अनियमितता गरेको पाइएको हो ।

सडक डिभिजन कार्यालय लहानले आर्थिक वर्ष २०७७/७८ मा ४५ प्रतिशत तल झरेर विकास निर्माण सेवा र जेएनएस जेभीसँग २ करोड १९ लाखमा सडक कालोपत्रेको सम्झौता गरेको डिभिजन सडक कार्यालयका प्रमुख रामकुमार देवले बताए। उक्त सडकको कालोपत्रेका लागि लागतअनुमान ५ करोड थियो ।

७ सय मिटर लम्बाइ र ११ मिटर चौडाइको उक्त कालोपत्रे सडक निर्माणका काममा बेसदेखि कालोपत्रेसम्म अनियमितता भएको साइट इन्जिनियर नरेश चौधरी स्विकार्छन् । ‘बेसको ग्राभेलमा माटोको मात्रा पाइएको थियो। त्यो बेला हामीले ठेकेदारलाई सच्याउन लगायौं,’ इन्जिनियर चौधरीले भने, ‘कालोपत्रेको काम अहिले नगर्नू भन्दाभन्दै रातारात गरिहालेछन् ।’

उनले थपे, ‘रकम निकासा रोक्न भनेको छु ।’ ठेकेदार कम्पनीले कार्यालयबाट सम्झौताको करिब २५ प्रतिशत निकासा पाइसकेको इन्जिनियर चौधरीले बताए ।‘जबसम्म काम सच्याउँदैन, तबसम्म निकासा रोक्न भनेको छु,’ उनले भने ।

स्थानीयका अनुसार कालोपत्रे भइसकेको सडक अहिले नै उप्किन थालिसकेको छ । ‘बेस नै कमजोर बनाएपछि कालोपत्रे कसरी टिकाउ हुन्छ ?’ एक स्थानीयले भने । नजिकैको खेतबाट धुलोमाटो भएको ग्राभेल खन्याएर बेस तयार पार्ने काम भएको स्थानीय वल्लु लामाले बताए । ‘बालुवामाटोमाथि झारु मारेर गरिएको कालोपत्रे कति समय टिक्ला ? कालोपत्रे सडक कतिपय स्थान चर्किसक्यो, कति ठाउँमा उप्किसक्यो,’ उनले भने ।

ठेकेदारले सम्झौताअनुसार गुणस्तरीय काम गरोस् भनेर कार्यालयबाट प्राविधिक खटाइएका हुन्छन् । तर, यहाँ प्राविधिकलाई समेत बेवास्ता गरेर ठेक्केदारले आफूखुसी काम गरेको पाइएको हो । इन्जिनियर चौधरीका अनुसार ठेक्केदारलाई रोक्दारोक्दै पनि आफूखुसी काम भएको छ । ‘हामीले यसबारे कार्यालय प्रमुखलाई जानकारी दिएका छौं,’ चौधरीले भने ।

कालोपत्रेको काम पालिका र अन्य ठाउँमा पनि भएको देखेको स्थानीय सन्तोष साहले बताए । ‘टालटुले काम भएपछि रोक्न खोज्यौ तर सकिएन । सडक डिभिजन कार्यालयले पनि कमसल कामलाई नै अघि बढाइरह्यो,’ उनले भने, ‘बेस बलियो कसिलो भए पो कालोपत्रे बलियो र टिकाउ हुन्छ ।’

साहका अनुसार बालुवाको बेसमाथि पिच गरिएको छ । बेसमा गिट्टीको मात्रा त देखाउन मात्र प्रयोग गरिएको उनले बताए । कार्यालयलाई अनियमित काम भइरहेको आफूहरूले जानकारी गराउँदा बेवास्ता भएको उनले बताए । ‘ठेक्केदारलाई भन्दा टेरपुच्छर नै लगाएनन्,’ उनले भने, ‘कतैबाट कुनै सुनवाइ नभएपछि थाकेर बस्यौं ।’

कालोपत्रे सडक निर्माण कार्यमा अनियमितता भएको स्थानीयको व्यापक गुनासोपछि साइट इन्जिनियर नरेश चौधरी निर्माणस्थलमा आएको स्थानीय बताउँछन् । स्थलगत निरीक्षणपछि उनले पनि काम गुणस्तरहीन भएको स्थानीयसमक्ष स्वीकार गरेका थिए । – नागरिक

प्रकाशित : २०७८ मंसिर ४, शनिबार १०:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ