एमाले महाधिवेशनमा ८ देशका १५ नेता आउने


काठमाडौं । चितवनको नारायणी नदी किनारमा हुन लागेको नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनमा एमालेको निमन्त्रणा स्वीकार गरी ८ वटा विदेशी पार्टीका १५ जना पाहुनाहरु आउने निश्चित भएको छ ।

महाधिवेशनको पूर्वसन्ध्यामा बिहीबार नेकपा (एमाले) विदेश मामिला विभागले काठमाडौंमा पत्रकार सम्मेलन गरी भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाबाट ८ वटा पार्टीका १५ जना पाहुनाहरू महाधिवेशनमा उपस्थित हुने निश्चित भएको बताएको हो । यसका साथसाथै २५ वटा देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश प्राप्त भएको एमाले विदेश मामिला विभागका प्रमुख तथा महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले जानकारी दिए ।

विदेशी पाहुनाहरुलाई काठमाडौंमा रहँदा होटल सोल्टीमा बसोबासको व्यवस्था गरिएको र मंसिर ९ गते (बिहीबार) साँझ एमाले विदेश मामिला विभागका प्रमुख तथा महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले रात्रीभोजको आयोजना गरेको जनाइएको छ । विदेशी पाहुनाहरुले महाधिवेशनको उद्घाटन सत्रमा सहभागिता जनाउँदै शुभकामना पनि दिने अतिथी सत्कार समितिले जानकारी दिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले विदेशी पाहुनाहरुलाई मंसिर १२ गते बिहान चितवनमा संयुक्त ब्रेकफाष्ट मिटिङ गर्ने कार्यसूची रहेको छ । अतिथि सत्कार समितिको अनुसार चितवनमा रहँदा पाहुनाहरुलाई ग्रिन मेनसन जंगल रिसोर्टमा बसोबासको व्यवस्था मिलाइएको छ । त्यसैगरी स्थानीय पर्यटकीय क्षेत्रको भ्रमण गराउनुका साथै जीप सफारी र थारु सांस्कृतिक प्रदर्शनीको अवलोकन समेत गराइने भएको छ ।

प्रकाशित : २०७८ मंसिर ९, बिहीबार १९:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ