कोशी टप्पुमा शोभाकलीले जन्मायाे छावा, कर्मचारी जुटे स्याहारमा


विराटनगर । कोशी टप्पु वन्यजन्तु आरक्षको हात्तीसारमा सरकारी हात्ती शोभाकलीले छावा जन्माएकाे छ । आरक्षमा रहेको शोभाकलीले शनिबार दिउँसो १२ बजे छावा जन्माएकाे हाे ।

५७ वर्षीय शोभाकलीलाई सुत्केरी व्यथा भने शुक्रबारै सुरु भएको थियो । आरक्षका कर्मचारीको निगरानीमा रहेका बेला छावा जन्माएकाे आरक्षका अधिकृत रामगुलाम चौधरीले बताए ।

३८ वर्षअघि कोशीटप्पु ल्याइएकाे शोभाकलीको यो पाँचौं सन्तान हो । बूढी भएका कारण शोभाकलीले फेरि सन्तान जन्माउने सम्भावना कम छ । हात्तीसारका कर्मचारी शोभाकलीको स्याहारमा जुटेका छन् । शोभाकलीले छावालाई दूध खान दिएकी छैन ।

शोभाकलीको पेटमा कोशी टप्पुको नियमित पाहुना मकुना हात्तीको गर्भ थियो । करेन्ट धरापमा परेर मकुना हात्ती असोज १७ गते मारिएको थियो । सात वर्षयता मकुना हात्ती आरक्षको नियमित पाहुना थियो ।

हात्तीसारमा मकुनाका चार सन्तान हुर्कंदैछन् । शोभाकलीले यसअघि बराहगज, लक्ष्मीकली, कोशीकली र अर्काे छावालाई जन्म दिएकाे थियाे । लक्ष्मीकली र कोशीकली कोशीटप्पुमै छन् । बराहगज नौ वर्षको उमेरमा मरेको थियो ।

एउटा छावा भने शोभाकलीले अस्वीकार गरेका कारण जन्मिएको केही दिनमै मरेको थियो । कोशीटप्पु आरक्षको हात्तीसारमा नौ वटा सरकारी हात्ती छन् । कोशी टप्पुकै ६ वटा हात्ती भने चितवन राष्ट्रिय निकुञ्जमा राखिएको छ ।

प्रकाशित : २०७८ मंसिर ११, शनिबार २१:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ