प्रदेश २: उपचार गराउन प्रदेश प्रमुखकी श्रीमतीलाई दिएको ५ लाख फिर्ता


जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रको श्रीमती उषा मिश्रलाई स्वास्थ्य उपचारकालागि पाँच लाख रुपैयाँ सहयोग फिर्ता गरिएको छ ।

प्रदेश प्रमुख मिश्रको श्रीमतीलाई आर्थिक सहयोगवारे जनकपुर टुडेले सोधपुछ गर्दा मुख्यमन्त्री लालबाबु राउत देखि मन्त्री, मुख्य सचिव सबैले अनभिज्ञता प्रकट गरेका थिए । तर, आइतवार सो चेक मुख्य मन्त्री कार्यालयलाई फिर्ता गरिएको स्रोतको भनाई छ ।

आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी निर्देशिका, २०७६ बमोजिम कुनै व्यक्तिलाई २५ हजारदेखि ३ लाखभन्दा बढी राज्यकोषबाट उपलब्ध गराउन मिल्दैन । आर्थिक सहायता उपलब्ध गराउनेसम्बन्धी निर्देशिका, २०७६ को दफा ३ को उपदफा (१) मा ‘ प्रदेशभित्रका असहाय, विपन्न वर्ग, अशक्त तथा गम्भीर प्रकृतिको रोग लागेकालाई निजको जीवनयापन वा औषधोपचारका लागि प्रदेश सरकारले सहयोगस्वरुप आर्थिक सहायता प्रदान गर्न सक्ने,’ भनिएको छ । निर्देशिकाको दफा ३ को उपदफा (३) मा ‘असहाय व्यक्तिलाई प्रतिव्यक्ति २५ हजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म, विपन्न वर्गका व्यक्तिलाई २५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म, अशक्त व्यक्तिलाई ५० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म र गम्भीर प्रकृतिका रोगीलाई बढीमा तीन लाख रुपैयाँसम्म’, उपलब्ध गराउने व्यवस्था छ ।

यसअघि पनि सरकारले कार्यविधि मिचेर पूर्वमन्त्री, प्रदेशसभा सदस्य तथा नेता निकटस्थ व्यक्तिलाई पैसा दिएपछि आलोचना भएको थियो । यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रदेशका तत्कालीन पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा तथा केही सांसदहरूलाई पटक– पटक गरी ५० लाख भन्दाबढी रकम दिएको थियो । यद्यपि सो रकम फिर्ता गर्न मुख्यमन्त्री कार्यालयले कुनै चासो देखाएन् ।

यस अघि पनि मुख्यमन्त्रीले कार्यविधि मिचि आफ्ना जिल्लाका नेता कार्यकर्ताहरुलाई ठूलै रकम वितरण गरेका थिए । उनी आफ्ना निकटकालागिनै सो कोष बनाएको भन्दै सामाजिक सञ्जालमा आलोचना गरेका छन् ।

प्रकाशित : २०७८ मंसिर १३, सोमबार ०८:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ