मन्त्री बिजय यादवले चयन गरे जसपा मधेस कमिटीको पदाधिकारी, अध्यक्षमा रामबाबु


जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश कमिटी (प्रदेश २)को अध्यक्ष संघीय सांसद रामबाबु यादवलाई बनाएको छ ।

आज जनकपुरस्थित पार्टी कार्यालयमा तत्कालिन मधेस प्रदेश कमिटीका अध्यक्ष एवं भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादवले पत्रकार सम्मेलन गरेर मधेस प्रदेश कमिटीका अध्यक्षसहितका पदाधिकारी घोषणा गरेका हुन् । अध्यक्ष बनेका यादव बारा क्षेत्र नम्बर ३ का निर्वाचित संघीय सांसद हुन् ।

पार्टीको विधान अनुसार प्रदेश कमिटीको पाँच उपाध्यक्ष, एक जना मुख्यसचिव, चार जना सचिव र एक जना कोषाध्यक्ष पनि चयन गरिएको छ । उपाध्यक्षमा रामपृत पासवान, शम्भु झा, शेष नारायण यादव, बृज मोहन तिवारी र रामसेवक यादव चयन भएका छन् ।

मुख्य सचिवको जिम्मेवारी दिनेश कुमार यादव पाएका छन् भने सचिवमा असुफ अलि, निरा साह र शैलेश कुमार साहलाई बनाइएको छ । रेणु यादव कोषाध्यक्षमा दोहोरिएकी छन् ।

केहिदिन अगाडी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरमा बसेको जसपाको बैठकले मधेस कमिटीको पदाधिकारी घोषणा गर्ने जिम्मैवारी तत्कालिन अध्यक्ष एवं मन्त्री विजय यादवलाई दिइएको थियो । सदस्यहरु भने पछि घोषणा गर्ने बताइएको छ ।

नेता व्यबस्थापन गर्न जसपाले ‘एक व्यक्ति, एक पद’को नीति अबलम्बन गरेको छ । सोही बमोजिम पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य रहेकाले मन्त्री यादव मधेस प्रदेश कमिटीको नेतृत्व छाडेका छन् ।

प्रकाशित : २०७८ मंसिर १५, बुधबार १७:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ