प्रदेश २ काँग्रेस सभापतिमा अर्का यादवको उम्मेदवारी घोषणा, दुई आकांक्षीको समर्थन !


जनकपुरधाम । नेपाली कांग्रेसका नेता कृष्णा यादव प्रदेश २ को सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको प्रदेश महाधिवेशन अन्यौलमा परेको बेला यादवले जनकपुरमा पत्रकार सम्मेलन गरी सभापतिकालागि उम्मेदवारी घोषणा गरेका हुन् ।

उनी २०६४ सालको पहिलो संविधानसभा सदस्य र दुई पटक रौतहटका सभापति भइसकेका छन् । प्रदेशमा कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन आफू सभापतिमा उम्मेदवारी दिने उनले बताए । पार्टी सभापति शेरबहादुर देउवा समूहको आफू आधिकारिक उम्मेदवार भएको उनको दावी छ ।

यादवको उम्मेदवारी घोषणा कार्यक्रममा प्रदेश २ का निर्वाचन संयोजक रमेश रिजाल, केन्द्रीय नेताहरु आनन्द ढुंगाना, महेन्द्र यादव, चित्रलेखा यादव र प्रदेश सभापतिकै आकांक्षी महोत्तरीका सभापति महेन्द्र रायको समेत उपस्थिति थिए ।उनले सभापतिका आकांक्षी एवं सप्तरी सभापति दिनेश यादव पनि आफूलाई समर्थन गरेको दावी गरे । तर सप्तरीका सभापति यादव भने पत्रकार सम्मेलनमा उपस्थित थिएनन् ।

नेपाल प्रेससँग प्रदेश सभापतिका आकांक्षी दिनेश यादवले भने, ‘अहिले नै कृष्णा जीलाई समर्थन गरिसकेको छैन । हिजो एक चरणको कुरा भयो । भोली पुनः बस्ने कुरा भएको छ ।’ सहमती नभए आफू पनि उम्मेदवारी दिने उनको भनाई छ ।

यसअघि नै कांग्रेस प्रदेश २ संसदीय दलका नेता एवं प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव प्रदेश सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् । उनले आफूलाई कांग्रेस उपसभापति विमलेन्द्र निधीको समर्थन रहेको दावी गरेका छन् ।

उनले आफू प्रदेश सभापति बनेपछि प्रदेशकै बलियो पार्टी बनाउने र जनकपुरमा रहेको करिब ९ कट्ठा जग्गामा भवन निर्माण गरेर प्रदेश पार्टी कार्यालय स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् ।

अहिलेसम्म प्रदेश २ मा काँग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलको समूहबाट कोही पनि उम्मेदवारी घोषणा गरेका छैन । प्रदेश सभापतिका आकांक्षी सप्तरीका सभापति दिनेश यादव र महोत्तरीका महेन्द्र रायले रौतहटका कृष्णा यादवलाई समर्थन गरेमा प्रदेश मन्त्री यादव कमजोर उम्मेदवार बन्नेछन् ।

प्रकाशित : २०७८ मंसिर १७, शुक्रबार १७:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ