प्रदेश २: राज्यमन्त्रीको गाडी बिग्रियो, मन्त्रीले अर्को गाडी दिएनन्, सुरु भयो लफडा


जनकपुरधाम । प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय नेकपा माओवादी केन्द्रका नेता भरत साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री छन् । पछिल्लो समयमा यी मन्त्री र राज्यमन्त्रीबीच गाडीको बिषयलाई लिएर विवाद देखिएको छ ।

राज्यमन्त्री कर्णले आफूलाई पुरानो गाडी दिएको र अहिले बिग्रेका कारण सार्वजनिक गाडी चढ्नुपरेको भन्दै विरोध जनाएकी छन् । साउन २ गते आफूले पद तथा गोपनीयताको शपथ गरेपछि दिएको ज १ झ ४४२ नम्बरको गाडी ब्रेकफेल भएर दुर्घटनामा परेको उनले बताइन् ।

‘१३ मंसिरमा जनकपुरबाट सप्तरीतर्फ जाने क्रममा ब्रेक फेल भई ढल्केबरमा दुर्घटना नै भयो’ उनी भन्छिन्, ‘यो दुर्घटनामा मलाई र चालकलाई सामान्य चोटपटक लागेको थियो ।’ दुर्घटनापछि उनका स्वकीय सचिवले मन्त्री भरत साह चढ्ने ज १ झ ४४३ नम्बरको गाडी लिएर राज्यमन्त्रीलाई उद्धार गर्न पुगेका थिए । त्यसयता उनले यही गाडी चढ्दै आएकी थिइन् ।

तर मंसिर १५ गते उनले सो गाडी लिएर काठमाडौं जान खोज्दा मन्त्री साहले दिएनन् । त्यसपछि आफू राति साढे ८ बजे सार्वजनिक बस चढेर काठमाडौं गएको राज्यमन्त्री कर्णले बताइन् । ‘यो घटना अर्थमन्त्री शैलेन्द्र साहलाई पनि जानकारी गरायौं’ उनले भनिन्, ‘तर काठमाडौंमा दुई दिनको बसाइको क्रममा प्रदेश सरकार र मन्त्रालयले कुनै चासो दिएन ।’

राज्यमन्त्री कर्णले गाडी पठाइदिन मन्त्रालयका सचिव रामकुमार महतोलाई भनिन् । तर उनले आफू मन्त्रालयमा नभएको भन्दै गाडी पठाउन नसक्ने जवाफ दिए । त्यसपछि आफू सार्वजनिक गाडी चढेर फर्किएको राज्यमन्त्री कर्णले बताइन् ।

प्रकाशित : २०७८ मंसिर १८, शनिबार ११:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ