जनकपुरको फूलबारीमा भगवान रामको भेट सीतासंग भएपछि…


जनकपुरधाम । साताव्यापी सीता- राम विवाह पञ्चमी महोत्सव अन्तर्गत दोस्रो दिन आज फूलवारी लीला कार्यक्रम सम्पन्न भएको छ । विवाह मण्डपमा सीताले फूल टिप्न गएको बेलामा रामसँग भएको पहिलो भेटको सम्झना स्वरुप फूलबारी लीला भएको हो ।

जानकी मन्दिरबाट माता सीता र भगवान रामको प्रतीकात्मक स्वरुपलाई विवाह मण्डपको बगैंचामा लगेर फूलवारी लीला मनाएको मन्दिरको सहायक महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए । राम र सीताबीच एकान्तमा भेटघाट गराइने कार्यक्रमलाई फूलबारी लीला भनिन्छ ।

त्रेतायुगमा फूल टिप्न गएकी सिताराम रामसँग भेट भएको प्रसंगलाई फूलबारी लीलाको रुपमा मनाइने प्रचलन रहेको छ । जनककी छोरी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले गोस्वामी तुलसीदासद्वारा रचित रामायणमा भएको वर्णनअनुसार यसलाई विशेष महोत्सवका रुपमा मनाउने गरिन्छ ।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंम्बरका लागि राखेका शिवधनुषलाई अयोध्याका राजा दशरथका छोरा रामले तीनटुक्रा पारेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।

रामायण उल्लेखित अनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको सो स्वयम्बरमा ५६ कोटी देवताको उपस्थिति रहेको मान्यता रही आएको छ । सीतालाई छोरी बहिनीका रुपमा मान्ने मिथिलावासी, महोत्सवमा देवीदेवताको शरीरको सहभागिता नभए पनि अदृश्य रुपमा उपस्थित हुने जनविश्वास छ ।

प्रकाशित : २०७८ मंसिर १८, शनिबार २०:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ