धनुषामा अहिलेसम्म कति जनाले लगाए कोरोनाको पूर्ण खोप ?


जनकपुरधाम । धनुषाका ३२ प्रतिशत नागरिकले मात्रै कोरोनाको पूर्णखोप लगाउन पाएका छन् । ३६ प्रतिशतले एक डोज खोप मात्र लगाएको जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ ।

सो कार्यालयले सोमबार जारी गरेको तथ्यांक अनुसार जिल्लाको कूल जनसंख्या ८ लाख ४७ हजार ८ सयमध्ये अहिलेसम्म खोपको पहिलो मात्रा १ लाख ७३ हजार ८४ र दोस्रो मात्रा १ लाख ३७ हजार ६४ जनाले लगाएका छन् ।

जसमध्ये १८ वर्षभन्दा माथिको उमेर समूहका १ लाख ३७ हजार ६४ जना र १२ देखि १७ वर्ष उमेर समूहका १ हजार ७ सय व्यक्ति रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा १८ वर्षभन्दा माथिको उमेर समूहका ४ लाख १८ हजार ९२३ र १२ देखि १७ वर्ष उमेर समूहका ९४ हजार ४३२ जना अझै खोप लगाउन बाँकी रहेका छन् ।

जिल्लामा कोभिसिल्ड, भेरोसेल, जोनसन एण्ड जोनसन, एस्ट्राजेनेका र फाइजर गरी पाँच प्रकारका खोप लगाइएको छ । धनुषामा कोरोनाविरुद्धको खोप लगाउन छुटेकालाई अगामी मंसिर २४ देखि २८ गतेसम्म लगाइने जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जानकारी दिएको छ ।

धनुषाका खोप अधिकृत राजदेव यादवले कोरोना विरुद्धको भेरोसेल खोप १ लाख व्यक्तिलाई दिने कार्यक्रम रहेको बताए । जिल्लाका ६३१ वटा खोप केन्द्रहरु मार्फत् खोप लगाइने उनले बताए । एउटा खोप केन्द्रमा १ जना खोप लगाइदिने व्यक्ति र २ जना सहयोगी तथा जिल्लाका १ सय ६९ वटै वडामा त्यति नै संख्यामा खोप सुपरभाइजरसमेत परिचालन गरिएको उनले बताए ।

विगतमा १ डोज लगाएका व्यक्तिहरुले पनि दोस्रो डोज लगाउन सक्ने उनले बताए । स्वास्थ्य कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख युगल किशोर यादवले निर्धक्क भएर खोप लगाउन सर्वसाधारणमा आग्रह गरेका छन् ।

१८ वर्ष र सो भन्दा माथिका सबै नागरिकलाई स्वास्थ्य कार्यालयमा नै खोपको पहिलो र दोस्रो मात्रा मंसिर १६ गतेदेखि लगाउन थालिएको र मंसिर २९ गतेसम्म लगाउन सकिने निमित्त कार्यालय प्रमुख यादवले जानकारी दिए ।

प्रकाशित : २०७८ मंसिर २१, मंगलवार ०१:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ