सप्तरीमा सशस्त्र प्रहरीले खोल्यो विद्यालय, भगतले गरे करोडौंको जग्गा दान


सप्तरी । सशस्त्र प्रहरीको तेस्रो विद्यालय सप्तरीमा स्थापना भएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका ११ मा सशस्त्र प्रहरीले विद्यालय स्थापना गरेको हो ।

सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बलका कर्मचारीका सन्तानबाहेक आम जनताको छोरा-छोरीलाई पनि यो विद्यालयमा पढाइने बताए । उनले गाउँपालिका, नगरपालिकाको सिफारिसमा गरीब, असहाय, आमा बुवा नभएका व्यक्तिलाई पनि यहाँ निःशुल्क शिक्षा दिइने पनि जानकारी दिए ।

आगामी वैशाखदेखि नै यो विद्यालयमा बालबालिका भर्ना लिने विद्यालयका समादेशक डीएसपी भुवन सिंह ठकुरीले जानकारी दिए । उनका अनुसार शुरुमा कक्षा ४ र ५ मा ५५ जनाका दरले भर्ना लिइनेछ ।

प्रदेश १ र प्रदेश २ का सशस्त्र प्रहरी बलका कर्मचारीलाई लक्षित गरी यो विद्यालय स्थापना गरिएको छ । यसअघि राजधानीको कीर्तिपुर र बाँकेको कोहलपुरमा मात्र सशस्त्र प्रहरीले विद्यालय स्थापना गरेको थियो ।

८ बिघा ११ कठ्ठा जग्गादान
सशस्त्र प्रहरीको विद्यालय स्थापनाका लागि स्थानीय समाजसेवी जोगेन्द्र भगतले ८ बिघा ११ कठ्ठा दान गरेका छन् । विद्यालयको नाम पनि जग्गादाताको नाममा एपीएफ ठाकोदेवी जोगेन्द्र भगत विद्यालय राखिएको छ ।

भगतले उपलब्ध गराएको जग्गामा पहिलो चरणमा ६ करोड, ५१ लाख २ हजारमा एकेडेमिक भवन, प्रिन्सिपलको निवास, मुख्यद्वार, सेफ्टिक ट्यांक निर्माण भएको छ । यस्तै सुरक्षाकर्मी ब्लक, होस्टेल, मेससहितका भवन ७ करोड ४९ लाख ८५ हजार रुपैयाँमा निर्माणाधीन अवस्थामा रहेको समादेशक प्रहरी नायव उपरीक्षक ठकुरीले बताए ।

आइतबार एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले विद्यालयको उद्घाटन गरेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी प्रमुख खनालले जग्गादाता जोगेन्द्र र उनकी पत्नी ठाकोदेवीलाई कदर पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

प्रकाशित : २०७८ मंसिर २१, मंगलवार ०५:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ