नेपालमा जीप दुर्घटना : नवविवाहित जोडी सहित ५ जनाको मृत्यू


बैतडी । बैतडीमा सोमबार साँझ भएको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । पाटन नगरपालिका १ सकारकी ४० वर्षीया जानकी भट्टराईको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो ।

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीका अनुसार जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका १ सकार खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर सुर्नया गाउँपालिका ४ का २४ वर्षीय प्रेम चुनारा र उनकी श्रीमती २० वर्षीया मनीषा विक, पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराईको घटनास्थलमै मृत्यु भएको हो ।

मनीषा र प्रेम १० दिनअघि मात्रै विवाह बन्धनमा बाँधिएका थिए । उनीहरू घरबाट माइतीघर पाटन ७ कैलपाल फर्कंदै गरेका बेला दुर्घटनामा परे । दुर्घटनामा परेर घाइते भएका पाँच जना मध्ये दुई जनालाई डडेल्धुरा रिफर गरिएको छ ।

पाटन नगरपालिका १ सकारका मानध्वज भट्टराई र ओमप्रकाश भट्टराईलाई डडेल्धुरा रिफर गरिएको प्रहरी निरीक्षक शाहीले बताए । सकारकै विष्णु भट्टराई, दीपक भट्टराई र गोविन्द विकको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार जीप चालक बैतडीको पाटन नगरपालिका ५ अड्तोलाका खेमराज पाण्डे भने फरार रहेका छन् । कच्ची बाटोमा जिप चिप्लिएर दुर्घटना भएको बैतडी प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ मंसिर २१, मंगलवार ०५:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ