प्रदेश २ मा ३० प्रतिशतले लगाए कोरोनाको पूर्ण खोप


जनकपुरधाम । नेपाल सरकारले अगामी पुससम्म ६६ प्रतिशत र चैत मसान्तसम्म नेपालमा कोरोनाविरुद्धको पूर्ण खोप लगाइसक्ने लक्ष्य राखेको छ । तर, अहिलेसम्म प्रदेश २ मा ३० प्रतिशतले मात्र पूर्ण खोप लगाएका छन् ।

प्रदेश २ स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार २० मंसिर सम्ममा ८ वटै जिल्लामा अहिलेसम्म ३० दशमलव ४३ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् । प्रदेश २ स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार अहिलेसम्म सप्तरीमा ३० दशमलव ३१, सिरहामा २९ दशमलव ५७, धनुषामा ३२, महोत्तरीमा २७ दशमलव ७४ प्रतिशत नागरिकले मात्रै कोभिड- १९ विरुद्धको पूर्ण खोप लिएका छन् ।

त्यसैगरि सर्लाहीमा सबैंभन्दा बढी ३४ दशमलव ५४, रौटहटमा २९ दशमलव ४१, बारामा ३० दशमलव ६४ र पर्सामा २७ दशमलव ७५ प्रतिशत नागरिकले मात्रै पूर्ण खोप लिएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ । प्रदेश २ का स्वास्थ्य निर्देशक विजय झाले जिल्लाहरुमा कोरोनाविरुद्धको खोप अहिले पर्याप्त मात्रामा रहे पनि सर्वसाधारणले लगाउन नचाहेको बताए ।

‘कोरोना कहर हामीसामु अझैं बाँकी रहेको छ । नयाँ नयाँ भेरियन्ट आइरहेका छन्,’ उनले भने, ‘तर, पनि ग्रामिण क्षेत्रमा कतिपय व्यक्ति खोप लगाउन डराइ रहेका छन् ।’ ‘खोप हाम्रो स्वास्थ्यका लागि अति आवश्यक हो । तर, पनि कतिपय व्यक्ति यसको सकारात्मक पक्षलाई नजरअन्दाज गरेर लापरबाही गरिरहेका छन्,’ निर्देशक झाले भने ।

अहिले खोप लगाउन वडा-वडामा टोली परिचालन गरेको उनको भनाई छ । उनले जिल्लाका स्वास्थ्य कार्यालयमा पनि खोप लगाउने काम भइरहेको भए पनि अपेक्षा अनुसार मानिसहरुले खोप नलागएको बताए ।

प्रकाशित : २०७८ मंसिर २२, बुधबार ०७:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ