राजविराजमा बसपार्क ४ वर्षमा पनि निर्माण भएन, आन्दोलन सुरु


सप्तरी । राजविराज राजदेवी बसपार्कको निर्माण कार्य अत्यन्त सुस्त गतिमा भइरहेको भन्दै स्थानीयवासी आन्दोलित भएका छन् । निर्माण यथाशीघ्र गर्नुपर्ने माग गर्दै विहीबार सरोकारवाला निकायहरुमा ज्ञापन पत्र बुझाएको छ ।

समितिले जिल्ला प्रसाशन कार्यालय सप्तरी,राजविराज नगरपालिका कार्यालय, संघीय शहरी विकास आयोजना डिभिजन कार्यालय सप्तरीमा ज्ञापनपत्र बुझाएको हो । लामो समयदेखि निर्माणाधीन रहेको र तोकिएको समय अवधि भन्दा एक वर्ष बढी भइसक्दा पनि सम्पन्न हुन नसकेपछि स्थानीयवासीहरु बाध्य भइ आन्दोलनमा उत्रेको समितिका संयोजक रामदेव यादवले बताए ।

शहरी विकास मन्त्रालयको एक करोड ३८ लाख ९६ हजार ५ सय १९को लागतमा सिनरश्री विल्डर्स प्रा. लि. काठमाडौले ठेक्का लिएको छ । २०७७ साल पुस १८ गते भित्रै बस पार्क निर्माण सम्पन्न भइसक्नु पर्ने भएपनि निर्माण नहुंदा स्थानीयवासीहरुले संघर्ष समिति निर्माण गरी आन्दोलनमा उत्रेका हुन् ।

ठेकेदार कम्पनीको लापरवाही सम्बन्धित निकायको उदासीनताको कारण बस पार्क निर्माणमा ढिलाइ भएको गुनासो बुझाइएको ज्ञापनपत्रमा गरिएको छ । समयमै बस पार्क निर्माण हुन नसक्दा मुख्य बजारको सडक किनारमै अव्यवस्थित रुपमा बस राख्ने गरिएकोले एकातिर ट्राफिक व्यवस्थापनको समस्या बढेको छ भने अर्कोतिर बजारमा वायु प्रदूषण बढेकोले पार्क निर्माण गरी यथाशीघ्र समस्याको समाधान गर्नु पर्ने माग ज्ञापनपत्र मार्फत गरिएको छ ।

राजविराजका नगर प्रमुख शम्भुप्रसाद यादवलाई ज्ञापनपत्र बुझाउंदै अविलम्ब बस पार्कको निर्माण कार्य सम्पन्न नगरिए थप सशक्त आन्दोलन गर्न बाध्य हुने समितिले चेतावनी समेत दिएको छ । पटक–पटक शिलान्यास भएको राजदेवी बस पार्क अहिले सम्म निर्माण कार्य नहुनु दुर्भाग्यपूर्ण रहेको समितिको ठहर छ ।

वि.स.२०४४ सालमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले शिलान्यास गरेको राजदेवी बस पार्क २०४६,२०५२ सालमा र पछिल्लो समयमा २०७४ साल पुस ९ गते शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र राजविराजका मेयर शम्भु यादवद्वारा संयुक्त रुपमा शिलान्यास गरिएको थियो ।

प्रकाशित : २०७८ मंसिर २४, शुक्रबार ०९:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ