कांग्रेस महाधिवेशन : मनोनयन दर्ता आज, यस्तो छ निर्वाचन तालिका


काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेद्वारी मनोनयन दर्ता हुनेछ । उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आजै साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर ७ देखि ९ बजेसम्म निर्णय हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको संख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ संघीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त संख्यामा महाधिवेशन प्रतिनिधिहरु चयन भएका हुन् । पार्टीको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरिसकेको छ ।

यसअघि हिजो अबेर राती रामचन्द्र पौडेल पक्षका नेताहरुको सहभागिता बिनै बसेको बन्दसत्र राति १० बजे सम्पन्न भएको छ । बन्द सत्रमा महामन्त्रीको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पेश भएकामा सबै पारित भएका छन् ।

यसैगरी बन्द सत्रमा १४ औं महाधिवेशन तयारीका क्रममा कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम विधानको विभिन्न धारा उपधारा व्याख्या, वाधा अड्काउ फुकाउ र निलम्बन गर्ने निर्णय अनुमोदनका लागि प्रस्तुत गरिएको प्रतिवेदन पनि अनुमोदन भएको छ ।

यस्तो छ निर्वाचन कार्यक्रम
उम्मेदवारको मनोनयन दर्ता आज बिहान १० देखि साँझ ५ बजेसम्म हुने कांग्रेस निर्वाचन समितिले जानकारी दिएको छ । यस्तै, आज बेलुका ७ देखि ९ बजेसम्म दाबी विरोधको समय राखिएको छ भने उम्मेदवारको पहिलो नामावली प्रकाशन आजै राति ९ देखि १२ बजेसम्म रहेको छ । यस्तै, मनोनयनपत्र फिर्ताका लागि भोलि आइतबार बिहान ११ बजेसम्म तोकिएको छ । यसैगरी, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर सोमबार बिहान ८ बजेदेखि मतदानको कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ ।

मतगणना तत्कालै
निर्वाचन सम्पन्न भएपछि सभापति पदको मतगणना लगत्तै सुरु गरिनेछ भने निर्वाचनसम्बन्धी सबै कार्यक्रम राष्ट्रिय सभा गृहमा हुने निर्वाचन समितिले जनाएको छ । यस्तै, सभापतिका लागि दोस्रो चरणको निर्वाचन गर्नुपरेमा पनि लगत्तै हुनेछ । सभापतिको हकमा राष्ट्रिय सभागृहमै र अन्य पदाधिकारी र सदस्यहरूको मतगणना पार्टी केन्द्रीय कार्यालयमा गर्ने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित : २०७८ मंसिर २५, शनिबार ०७:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ