लोसपामा सुरु भयो विवाद, महन्थ ठाकुरविरूद्ध ३० नेताले निकाले विज्ञप्ती


जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा भित्र विवाद उत्पन्न भएको छ । पार्टी दर्ता भएको ६ महिना नबित्दै लोसपामा विवाद देखा परेको हो । पार्टी नेतृत्वले हालै प्रदेश २ र प्रदेशका जिल्लाहरूमा अध्यक्ष तोकेको छ ।

नेतृत्वले अध्यक्ष चयनमा मनोमानी गरेको भन्दै नेताहरु आक्रोशित बनेका छन् । उनीहरूले यो निर्णयलाई सच्याउन माग गरेका छन् । सबभन्दा असन्तुष्टि पार्टीको प्रदेश अध्यक्षमा जितेन्द्र सोनल र धनुषा जिल्लाको अध्यक्षमा चयन भएका परमेश्वर साह लिएर भएको छ ।

पार्टीले एकै व्यक्तिलाई पटक पटक दोहोर्‍याइ रहेको भन्दै लोसपा कै नेताहरूको एक समूहले सो निर्णयको विरोधमा उत्रिने चेतावनी दिएका छन् । पार्टीको निर्णय विरुद्ध केही नेताहरूले सामूहिक रुपमा विज्ञप्ति नै निकालेर विरोध जनाएका छन् ।

विज्ञप्तिमा पार्टी नेतृत्व पङ्क्तिले एक पद एक व्यक्ति स्वीकार गरिसकेको अवस्थामा फेरी पनि अध्यक्ष मण्डलीय प्रणालीको प्रपञ्च रच्न लागेकोले यो निर्णय आफूहरूलाई मान्य नहुने उल्लेख छ । पार्टीमा सामूहिक छलफल नगरी निर्णय गरिएको र आगामी दिनमा सामूहिक रुपमा निर्णय गर्न विज्ञप्तिमा सुझाव दिइएको छ ।

यी निर्णयहरू नसच्चिए बाध्य भएर आगामी कदम उठाउने विज्ञप्ति मार्फत चेतावनी समेत दिइएको छ । लोसपा अध्यक्ष महन्थ ठाकुरले विभिन्न जिल्लामा चयन गरेका अध्यक्ष र प्रदेशको अध्यक्षमा सोनलको नियुक्ति विरुद्ध लोसपा कै ३० जना नेताहरूले सामूहिक रुपमा विरोध जनाएका छन् ।

असन्तुष्ट नेता उमेश मण्डलले नेताहरूको दोहोरो चरित्रका कारण पार्टी धराशायी भएको आरोप लगाउँदै नेतामुखी पार्टीले कार्यकर्ता र जनताका समस्यालाई बेवास्ता गर्ने र अन्ततः पार्टी सङ्कटमा पर्ने बताए । पार्टीका ३० जना नेताको जनकपुरधाममा बसेको बैठकले पार्टीको उक्त निर्णयहरू रद्द गर्न माग गरेको छ ।

‘अविलम्ब निर्णय नसच्याए बाध्य भएर अर्को कठोर कदम चाल्न बाध्य हुनेछौँ’’ उनीहरूले गरेको निर्णयमा उल्लेख गरिएको छ । नेता सञ्जय सिंहले पार्टी स्थापना भएपछि सामूहिक निर्णय गर्ने प्रतिबद्धतालाई लत्त्याउँदै जिल्ला तथा प्रदेश नेतृत्व मनोनीत गरिएको बताए ।

एकै जनालाई दोहोराई तेहराई जिम्मेवारी दिई एकातिर एक व्यक्ति एक पदको अवधारणा लत्त्याइएको उनको भनाइ छ । जिल्लाका साथीहरूले सामूहिक रुपमा आग्रह गर्दै केन्द्रीय नेतृत्वलाई आग्रह गरे पनि त्यसलाई अस्वीकार गरेको बताउँदै सिंहले पार्टी नेतृत्वले आफ्नो निर्णय सच्याउने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित : २०७८ मंसिर २६, आईतवार २०:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ