कांग्रेस महाधिवेशन: तीन मतदानस्थलबाट एकसाथ सुरू हुदैछ मतदान


काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज विहान ८ बजेदेखि राष्ट्रियसभा गृहमा मतदान हुदैछ । मतदानका लागि तीन मतदान केन्द्र कायम गरिएको छ ।

राष्ट्रिय सभागृहमा दुईवटा र भृकुटीमण्डपमा एउटा बुथ कायम गरिएको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए । उनका अनुसार ती मतदान केन्द्रमा करिब एक हजार एक सय बुथ व्यवस्था गरिएको छ । महाधिवेशनबाट नयाँ केन्द्रीय समिति चयनका लागि सोमबार विहान ८ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

महाधिवेशनमा ४ हजार ७ सय ४३ जनाले मतदान गर्नेछन् । महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् ।

प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले भृकुटीमण्डको प्राङ्गणमा र प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समिति सदस्‍य रावलले बताए ।

उनका अनुसार आज हुन लागेको निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि छुट्टाछुट्टै मतपेटिकाको व्यवस्था गरिएको छ। मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएको छ ।

महाधिवेशनबाट सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री, आठ जना सहमहामन्त्री निर्वाचित हुनेछन् । केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट १२१ जना निर्वाचित हुनेछन् ।

प्रकाशित : २०७८ मंसिर २७, सोमबार ०५:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ