मधेसी नेता हृदयेश त्रिपाठीले खोले नयाँ पार्टी


काठमाडौं । हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार (आज) राजधानीमा एक कार्यक्रम आयोजना गरेर त्रिपाठीले ‘जनता प्रगतिशील नेपाल’ नामक पार्टी घोषणा गरेका हुन् ।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा नेकपा एमालेको ‘सूर्य’ चिह्नबाट चुनाव जितेको छ । उनी तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र रूपमा राजनीति गर्दै आएका थिए ।

त्रिपाठी ओली नेतृत्वको सरकारमा स्थानीय विकास र स्वास्थ्य मन्त्रीसमेत भएका थिए । सद्भावना पार्टीबाट लामो समय राजनीति गरेका त्रिपाठी पनि कम्युनिष्ट विधारधाराबाट प्रभावित नेतामा पर्छन् ।

तत्कालीन मधेशी मोर्चामा आबद्ध ६ ओटा दलहरू एकीकृत भई राष्ट्रिय जनता पार्टी (राजपा) बनेपछि त्यसबाट टाढिएका त्रिपाठी त्यसपछि तत्कालीन नेकपामा जाने चर्चा थियो । तर उनी गएनन् ।

सहकार्य गरेर केपी ओली सरकारमा सहभागी भने भएका थिए । सरकारमा सहभागी हुँदादेखि नै नयाँ पार्टी खोल्ने त्रिपाठीको चर्चा भए पनि त्यो हुन सकेको थिएन ।सद्भावना पार्टी परित्याग गरी त्रिपाठी ०६४ सालमा महन्थ ठाकुरले गठन गरेको तराई-मधेश लोकतान्त्रिक पार्टीमा लागेका थिए ।

तत्कालीन तमलोपाका उनी वरिष्ठ उपाध्यक्ष थिए । तमलोपा मधेशी मोर्चामा आबद्ध दलहरूसँग एकीकरण गरे राजपा बनाएपछि उनले आफूभन्दा कनिष्ठ नेतामातहत काम गर्न नसकिने भन्दै राजपा परित्याग गरेका थिए ।

प्रकाशित : २०७८ मंसिर २८, मंगलवार १३:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ