प्रदेश २ मा फेरि बढ्न थाल्यो कोरोना


जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेको छ। पछिल्लो १५ दिनमा प्रदेशमा झण्डै दोब्बरले कोरोना संक्रमित थपिएका छन् ।

नयाँ संक्रमितहरु थपिएकाहरुमध्ये अधिकांश धनुषाकै रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ ।स्वास्थ्य निर्देशनालय प्रदेश २ का निर्देशक विजय झाका अनुसार मंसिर १८ गते प्रदेशमा ३४ जना कोरोना संक्रमित रहेकोमा आजसम्म थपिएर ६५ जना पुगेको बताए ।

मंसिर १८ गते प्रदेशमा ३४ जना कोरोनाको सक्रिय संक्रमित रहेका थिए । जसमध्ये ३३ जना होम आइसोलेशनमै रहेका थिए भने १ जना चिकित्सकको निगरानीमा रहेका थिए । तर पुस ३ गतेमा भने प्रदेशमा ६५ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।

संक्रमितहरुमध्ये ६२ जना होम आइसोलेशनमा रहेका छन् भने ३ जना चिकित्सकको निगरानीमा रहेका छन् ।स्वास्थ्य निर्देशनालय प्रदेश २ का अनुसार प्रदेशमा ६५ जना कोरोना संक्रमित रहेकोमा धनुषामा मात्र ३५ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै महोत्तरीमा १६, सिरहामा ५, सर्लाहीमा ३, पर्सामा ४, सप्तरीमा १ र बारामा १/१ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् । पछिल्लो १५ दिनमा प्रदेशमा ५४ जना नयाँ संक्रमित थपिँदा २३ जना निको भएका छन् ।

स्वास्थ्य निर्देशनालयका निर्देशक झाले कोरोनाको नयाँ भेरियन्टको संक्रमण फैलन नदिनका लागि निर्देशनालयले तयारी थालिसकेको जानकारी दिए । उनका अनुसार प्रदेशमा अहिले ओमिक्रोनको संक्रमण नदेखिए पनि सतर्क र सावधानी अपनाउनसमेत आग्रह गरे ।

निर्देशक झाले प्रदेशमा रहेका १ सय ३० भेन्टिलेटर, २ सय २४ आइसीयु बेड, ५ सय ८९ एचडियु बेड र १ हजार ३ सय २४ सामान्य बेडलाई तयारी अवस्थामा राखिएको बताएका छन् । – देशसंचार

प्रकाशित : २०७८ पुष ३, शनिबार १८:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ