ओलीले भने- नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन सकिन्‍न


रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन् । कपिलवस्तुमा पुगेर भाषण गर्दै ओलीले नेपालको राजनीति अब विकास र समृद्धिमा केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

कपिलवस्तुको बहादुरगंजमा मंगलप्रसाद गुप्तासहितका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले देशलाई समृद्धितर्फ लैजाने यात्रा एमालेले सुरू गरेको बताए । मधेसमा नेकपा एमालेको जनलहर देखेर विरोधीहरुलाई जलन भएको उनले टिप्पणी गरे ।

ओलीले भने, ‘केही लोभीपापीका कारण हामी सरकारमा त छैनौं, तर त्यो विधिले होइन जालझेलले हो । यसको फैसला चुनावपछि आउने परिणामले देखाउँछ ।’ आज प्रवेश गरेका हजारौं जनाको संख्याले जनलहर कता गएको छ भन्ने देखाउने उनको भनाइ थियो ।

मधेशमा एमालेको बढ्दो जनलहरले एमालेविरुद्ध लाग्नेहरूलाई जलन भएको भन्दै उनले आफ्नो कार्यकालमा मधेसमा गरेको विकासको अभियानले यो लहर बढ्दै गएको बताए । ‘यता नेपालतर्फ बाँझो जमिन छ उता भारततर्फ खेती भइरहेको छ, यो कदापी हुँदैन’ ओलीले भने ।

प्रकाशित : २०७८ पुष ६, मंगलवार १७:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ