लोसपाले प्रदेश २ को नाम मधेस राख्न सहमती जुटाउने, बार्ता टोली गठन


जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलले प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम तोक्न सहमतीका लागि विभिन्न दलसँग वार्ता गर्ने भएको छ ।

प्रतिपक्षी लोसपा संसदीय दलले विभिन्न दलसँग वार्ताका लागि साँसद रानी शर्माको संयोजकत्वमा ७ सदस्यीय वार्ता टोली गठन गरेको हो । टोली सदस्यमा साँसदहरु परमेश्वर साह, जैनुल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रहलाद गिरीलाई राखिएको छ ।

पार्टीको निर्णय बमोजिम प्रदेशको नाम मधेस र राजधानी जनकपुरधामका लागि प्रदेशसभाभित्र रहेका दलसँग छलफल र सहमतीका लागि वार्ता टोली गठन गरेको लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले बताए ।

अगामी पुस ८ मा बस्न लागेको प्रदेशसभा बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पेश गर्ने बुझिएको छ । राजधानी जनकपुरधाम तोक्न सबै दल सहमत छन् । तर प्रदेशको नामाकरण विषयमा विवाद देखिएको छ ।

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले प्रदेशको नाम मधेस प्रदेश राख्ने प्रस्ताव गरिसकेका छन् । नेकपा एकिकृत समाजवादी समेत मधेस प्रदेशमा सहमत हुने सम्भावना छ । तर नेपाली काँग्रेस र नेकपा एमालेले मधेस प्रदेश नाम स्वीकार्न तयार छैन ।

प्रकाशित : २०७८ पुष ६, मंगलवार १८:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ