गोलबजार छुरा काण्डः प्रहरीले दुई जनालाई समात्यो, मृतक परिवारलाई क्षतिपूर्ति दिने सहमती


जयनाथ यादव, लहान । सिरहाको गोलबजारमा छुरा प्रहार गरेर एक दलित यूवकको ज्यान लिएको र अर्का दलित युवकलाई घाईते बनाएको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेको पहिचान भने प्रहरीले गोप्य राखेको छ । अनुसन्धानमा असर पुग्ने भएकाले पक्राउ परेका व्यक्तिको परिचय तत्काल गोप्य राखिएको सिरहा प्रहरीका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार घटनामा अन्य व्यक्तिको पनि संलग्नता देखिएको छ । ति व्यक्तिहरुको पनि खोजी भइरहेको छ । पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडी बढाएको पनि उनले बताएका छन् ।

शनिवार साँझ छुरा प्रहारबाट गोलबजार नगरपालिका ६ डोहटियाका २६ वर्षीय रामकुमार सदायको मृत्यू भएको थियो भने उनकै साथी १९ वर्षिय निकेश सदाय घाइते भएका छन् । उनी अस्पतालमा उपचाररत छन् ।

घटनाको विरोधमा डोहटियाका बासिन्दा आईतवार र सोमवार घण्टौंसम्म पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । राजमार्ग खोलाउन प्रहरीले बल प्रयोग गर्न खोज्दा आन्दोलनकारीसँग झडप समेत भयो । त्यसपछि प्रशासनले पीडित परिवारलाई क्षतिपूर्ति र घटनामा संलग्नलाई पक्राउ गर्ने सहमती गरेको छ ।

मृतक परिवारलाई किरिया खर्चका लागि गोलबजार नगरपालिकाले ५० हजार रुपैया उपलब्ध गराएको बुझिएको छ । यस्तै जिल्ला प्रशासन कार्यालयले पनि ५ लाख रुपैया क्षतिपूर्ति बापत मृतक परिवारलाई उपलब्ध गराउने र घटनामा संलग्नमाथि कडा कारबाही गर्ने सहमती पनि भएको हो ।

प्रकाशित : २०७८ पुष ६, मंगलवार १९:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ