सरकारमा रहेका प्रचण्डले भने- संविधान संशोधन गर्न सडक आन्दोलन गर्छौं


काठमाडौं । अहिले संघीय सरकार मात्र मात्र होइन् पाँच वटा प्रदेशमा समेत नेकपा माओवादी केन्द्र सहभागी छ । तर उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्न सडक आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

मगर राष्ट्रिय मुक्ति मोर्चाको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले यसअघि जातीय पहिचान र अधिकारको मुद्दा सशक्त ढंगले अघि बढाउन नसकेको स्वीकारे । उनले अब जातीय पहिचानको मुद्दा आफ्नो पार्टीले फेरि सशक्त ढंगले उठाउने पनि बताए ।

‘पहिचान र अधिकारको विषय अहिले कमजोर भएको जस्तो देखिएको छ। जति पकड हुनुपर्थ्यो त्यति हुन सकेन । कहिँ न कहिँ कमजोरी भएको छ, प्रचण्डले भने, ‘उत्पीडित वर्ग, जाती, क्षेत्र, लिंग, समुदाय सबैका मुद्दाहरु हामीले फेरि एकपटक दह्रोसँग समाएर उठाउनुपर्छ ।’

विभिन्न जातीय पहिचानका आधारमा राज्यका नाम राख्ने कुरादेखि अधिकार स्थापित गर्ने कुरालाई फेरि उठाउने र फेरि आन्दोलित हुने उनको भनाइ छ । ‘यो संविधानले उत्पीडित समुदायका हक अधिकारलाई राम्रोसँग सम्बोधन गर्न सकेको छैन’, प्रचण्डले भने ।

उनले भने, ‘नयाँ परिस्थितिमा नयाँ आन्दोलन गर्दै पहिचान र अधिकार, निर्वाचन प्रणाली र शासकीय स्वरुपको मुद्दालाई अझ जनपक्षीय बनाउन संविधान संशोधनको प्रयास गर्ने छौं भनेर मैले आफैंले संविधानसभाको माइन्युटमा भिन्न मत राखेको छु । अब ती मुद्दालाई जोडदारसँग उठाउनु छ, एक चोटी फेरि संविधान संशोधनका लागि सडक आन्दोलनको दबाव दिनुछ ।’

प्रकाशित : २०७८ पुष ९, शुक्रबार २०:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ