ओलीलाई फकाउन प्रधानमन्त्रीलाई लिएरै प्रचण्ड बालकोट जान तयार


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार बैठकमा नआएको हुँदा आफूहरु दुईजना नै बालकोट पुगेर समस्या समाधानको पहल थाल्न प्रस्ताव गरेका छन् ।

उनले सो कुरा शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा बताएका हुन् । “मैले प्रधानमन्त्रीसँग भनेको छु,” दाहालले भने, “ओली बालुवाटार नआउने भए हामी दुईजना बालकोट नै जाऔँ र समस्याको समाधानका लागि पहल गरौँ । प्रधानमन्त्रीले महाधिवेशनपछि भनेको हुँदा हामी रोकिएका हौँ ।”

उनले माधवकुमार नेपाल संसद्मा रहेसम्म ओली नआउने कुरा सुहाउँदो नभएको बताए । उनले अहिले गठबन्धन टुट्ने अवस्था नरहेको बताउँदै कांग्रेस सभापति शेरबहादुर देउवासँग धेरै कुरा भएको बताए ।

“एकथरीले गठबन्धन टुटाउन प्रयास गरिरहेका छन्,” दाहालले भने, “तर अहिले त्यो टुट्नेवाला छैन । अहिले नेकपा एमालेले पनि कांग्रेसलाई गठबन्धन टुटाए एकल सरकारका लागि सहयोग गर्छौँ भनेको सुनियो तर राजनीतिमा त्यस्तो हुँदैन ।”

एमसीसीका कारण पनि गठबन्धन नटुट्ने बताउँदै प्रश्न उठिसकेकाले केही अध्ययन गर्न लागिएको बताए । उनले माधवकुमार नेपालसहित विभिन्न वामपन्थी र पुराना माओवादीका नेताहरुसँग पनि एकताको कुरा भइराखेको खुलासा गरे ।

“माधव नेपालसहित वामपन्थी नेताहरु ढिलोचाँडो एकठाउँमा हुन्छौँ,” दाहालको भनाइ थियो,“माधव नेपालसँग हाम्रो दुरी छैन ।” उनले अहिले पार्टीमा प्रचण्डपथको कुरा उठे पनि अहिलेको आवश्यकता त्यो नभएको बताए ।

प्रकाशित : २०७८ पुष १०, शनिबार २०:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ