सिरहामा जनमतका कार्यकर्ताले ट्रकमा आगो लगाए, अबस्था तनावग्रस्त !


जयनाथ यादव, सिरहा । सिरहाको चोहर्वामा डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले ट्रकमा आगजनी गरेका छन् । आमहड्तालको उल्लंघन गरेको भन्दै ट्रकमा आगो लगाएका हुन् ।

आगलगीबाट ना ५ ख ५५२२ नम्बरको ट्रक क्षतिग्रस्त बनेको छ । प्रहरीले बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरेको थियो । ट्रकमा आगो लगाएपछि राजमार्ग ठप्प भएको छ ।

आज विहान आमहड्तालको उल्लंघन गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले मिर्चैया र गोलबजारमा दर्जनौं सवारी तोडफोड गरेका थिए । आमहड्तालका कारण सिरहामा यातायात, शैक्षिक संस्था, उद्योग, कलकारखाना र बजार ठप्प भएको छ ।

औरही गाँउपालिकाले थन्क्याएर राखेको गहुँको बीउ किसानहरुले कब्जामा लिएपछि गाउँपालिकाले चार किसानमाथि मुद्दा दर्ता गराएको र प्रहरीले एक किसानलाई पक्राउ गरेको विरोधमा जनमत पार्टीले आन्दोलन घोषणा गरेको हो ।

पक्राउ परेका किसानलाई रिहा, दर्ता भएको मुद्दा फिर्ता, औरही गाँउपालिकामा भएको भ्रष्टाचारको छानबिन, किसानलाई सहज रुपमा मलखाद उपलब्ध नगराए अझ कडा आन्दोलनको घोषणा गर्ने जनमत पार्टीका नेता दिपेन्द्र यादवले बताए ।

प्रकाशित : २०७८ पुष ११, आईतवार १४:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ