कैदी फरार प्रकरणः जेलर र सुरक्षा प्रमुखसहित सबै प्रहरी तानिए


घोराही । प्रहरीकै मोटरसाइकल लिएर कैदी भागेपछि घोराही कारागारका जेलर र नेपाल प्रहरीले सुरक्षार्थ खटाएका सबै प्रहरी अनुसन्धानमा तानिएका छन् ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई उपचारका लागि भन्दै त्यहाँबाट निकालिएको र मिलेमतोमा भगाएको प्रहरीको निष्कर्ष छ । कारागारका जेलर युवराज परियारलाई जिल्ला प्रशासन कार्यालयमा र सुरक्षा प्रमुख, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेनठकुरीसहित सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

छालाको उपचार गर्न भनेर कारागारका नाइके कैदी परियारलाई प्रहरी जवान धनबहादुर चौधरीले अघिल्लो साताको बुधबार दिउँसो लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर गएका थिए । तर उनीहरु अस्पताल नगई होटलमा पुगेको र त्यहीँबाट भागेका प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ ।

प्रहरी र कैदी घोराहीकै थकाली होटलमा दुई जना महिलासहित पुगेको अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न भएका प्रहरी जवानसहित अनुसन्धानका लागि कारागारका कार्यालय सहयोगी, ती दुुई महिला र होटल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैदी परियारले प्रहरी जवानलाई होटलको कोठामा थुनेर भागेको प्रहरी अनुसन्धानले देखाएको छ । भाग्न प्रयोग गरेको मोटरसाइकल लमही ६ बेलदमारको जंगलमा बिहिबार फेला परेको थियो । तर कैदी परियार भने अझै फेला परेका छैनन् ।

डीएसपी मुकुन्दप्रसाद रिजालको कमाण्डमा जिल्लामा र बाहिरबाट सीआईबीको टोलीले समेत खोजी तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । – नेपाल प्रेसबाट

प्रकाशित : २०७८ पुष १२, सोमबार ०९:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ