भारतले ज्यादती गरेको भन्दै विप्लवका कार्यकर्ताले पुलमा लगाए ताला


दार्चुला । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले दार्चुला सदरमुकाम खलंगा र भारतको धार्चुला जोड्ने सीमापुलमा ताला लगाएका छन् ।

भारतको ज्यादतीविरुद्ध भन्दै उनीहरुले बुधबार बिहान ७ पुलको गेटमा ताला लगाएका हुन् । नेकपा दार्चुलाका सचिव भरत मल्लले ताला लगाइएको पुष्टि गरेका छन् ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले विभिन्न बहानामा नेपाली नागरिकलाई दुःख दिने गरेकाले सीमापुलमा ताला लगाइएको उनलेब ताए । एसएसबीले हाल भारतीय क्षेत्रमा प्रवेश गर्ने नेपालीको नागरिकता तथा खोपकार्ड माग्ने गरेका छन् ।

नाम, नागरिकता नम्बर, बुबाको नाम लगायतका व्यक्तिगत विवरण राखेर एसएसबीले धार्चुला प्रवेश दिने गरेको छ । लाइन लगाएर नेपाली नागरिकको खानतलास गर्नु एसएसबीको दुःख दिने नियत मात्रै भएको नेकपा दार्चुलाका सदस्य भुवन जोशीले बताए ।

प्रहरीले भने सीमापुलमा तालाबन्दी नभएको दाबी गरेको छ । सीमापुल निर्धारित समयमै खोलिएको र तालाबन्दी नभएको पुलघाट प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक भरतसिंह बोहराले बताएका छन् ।

प्रकाशित : २०७८ पुष १४, बुधबार १२:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ