माओवादी महाधिवेशन : ‘प्रचण्ड युग’ घोषणा गर्न प्रस्ताव


काठमाडौं । नेकपा (माओवादी केन्द्र)मा ‘प्रचण्ड युग’ घोषणा गर्नुपर्ने माग उठेको छ । माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गत बुधबार समूहगत छलफलमा यस्तो सुझाव आएको हो ।

वागमती प्रदेश समितिका अध्यक्ष सरल सहयात्रीले समूहको सुझाव पेस गर्दै ‘प्रचण्ड युग’ घोषणा गर्न माग गरेका हुन् । तीन दशकयता माओवादी एजेण्डाले देशको नेतृत्व गरिरहेका र त्यसको केन्द्रिकृत नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको भन्दै त्यसको माग गरिएको सहयात्रीले बताए ।

‘तीन दशक यता माओवादी एजेन्डाले नै नेतृत्व गरिरहेको छ,’ सहयात्रीले भने, ‘समाजवादको यात्रा कस्तो हुन्छ भन्ने सन्दर्भमा माओवादीले नै बहस गरिरहेको छ । त्यसकारण कम्तिमा माओवादी युगको घोषणा गर्नुपर्छ । त्यसको केन्द्रीकृत नेतृत्व प्रचण्ड हो । त्यसो हुनाले प्रचण्डको नामाकरणको रुपमा पनि यसलाई लैजानुपर्छ भन्ने भावमा समूहमा उठेको विषय वस्तुलाई मैले प्रस्तुत गरेको हुँ ।’

छलफलका क्रममा प्रचण्डपथ ब्युँताउनुपर्ने सुझाव आएको पनि उनले बताए। ‘हामीले प्रचण्डपथ छोडेका थियौं,’ सहयात्रीले भने, ‘यो व्यक्तिको नामाकरण थिएन विचार थियो । त्यसकारण अहिले पनि त्यसलाई प्रचण्ड विचारकै रुपमा उत्थान गर्न पनि सकिन्छ या अरु केही नामाकरण पनि गर्न सकिन्छ भन्ने पनि आएको छ ।’ – नेपाल प्रेस

प्रकाशित : २०७८ पुष १४, बुधबार १८:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ