काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्र र किसानहरु राज्यबाटै उपेक्षित भएको स्वीकारेका छन् ।
नेपाल कृषि सहकारी केन्द्रीय संघको १४ औं वार्षिक साधारणसभा शुक्रबार उद्घाटन गर्दै उनले भने, ‘कृषि क्षेत्र उपेक्षित बनेको छ । किसानहरुले पाउनुपर्ने सेवा र सुविधा पाइरहेका छैनन् ।’
मन्त्री शर्माले अब उनीहरुलाई परिचालित गरेर कृषिमा आधारित उद्यमहरु स्थापना गर्न लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले भने, ‘कृषि क्षेत्रलाई व्यवस्थित, संगठित, परिचालित र राज्यको विशेष लगानी आवश्यक छ ।’
उनले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए । किसान, भूमि, नेपालको हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित बनाएरमात्रै देशको विकास र उन्नति सम्भव भएको समेत उनले उल्लेख गरे ।
कृषि क्षेत्रलाई व्यवस्थित, संगठित र परिचालित गरेर मुलुकको अर्थतन्त्र निर्माणका लागि राज्यले विशेष लगानी गर्नुपर्ने आवश्यकता रहेको मन्त्री शर्माले औंल्याएका छन् ।