जनमत पार्टीले भन्यो- किसान आन्दोलनलाई बदनाम गर्न ट्रकमा आगजनी गरियो


जनकपुरधाम । सोमबार धनुषाको गणेशमान चारनाथ नगरपालिका १ छघरियामा ट्रक जलाएको घटनामा आफ्नो पार्टीको संलग्नता नरहेको जनमत पार्टीका धनुषा जिल्ला सचिव विजय साहले दावी गरेका छन् ।

सोमबार दिउँसो करिब ३ः२० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ क ७७६९ नम्बरको ट्रकमा आगजनी गरिएको थियो । उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले जनमत पार्टी धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहा, कार्यकर्ताद्वय चन्दन कुमार साह र नविन पण्डितलाई पक्राउ गरेको छ ।

तर जनमत पार्टीका धनुषा जिल्ला सचिव साहले आज विज्ञप्ती जारी गरेर उक्त ट्रकमा अज्ञात समूहले आगो लगाएको भन्दै घटनाप्रति घोर भत्र्सना गरेका हुन् । उनले घटना घुसपैठियाहरूले पार्टीलाई बदनाम र किशान आन्दोलनलाई विथोल्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

किसानलाई मलखाद दिनुपर्ने, सिँचाईको व्यवस्था गर्नुपर्ने, उखु किसानको भुक्तानी दिनुपर्ने लगायतका ११ बुँदै माग राखेर जनमत पार्टीले पूर्वपश्चिम राजमार्ग अनिश्चित कालका लागि बन्दको घोषणा गरेको छ ।

बन्दको अवज्ञा गरेको भन्दै हालसम्म चारवटा ट्रक जलाइएको छ । जसमध्ये एउटा ट्रकमा आगजनी नगरेको दावी जनमत पार्टीले गरेपनि अन्यको विषयमा केहि बोलेका छैन । जनमत पार्टीले शान्तिपूर्ण किसान आन्दोलन गरिरहेको जनाएको छ ।

प्रकाशित : २०७८ पुष २०, मंगलवार १२:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ