मधेसमा शितलहर संकट : रौतहटका अधिकांश विद्यालय बन्द


रौतहट । शितलहरले मधेसमा संकट निम्तिएको छ । केही दिन यतादेखि शुरु भएको शीतलहरका कारण रौतहटका विद्यालयहरु बन्द हुन थालेका छन् ।

गत बिहीवार एक्कासी भएको वर्षाका कारण अत्याधिक जाडो बढेसँगै रौतहटका ११ वटा नगरपालिकाले आफ्नो नगर क्षेत्रको सामुदायिक तथा निजी विद्यालयहरुमा बिदा दिएका छन् ।

कुहिरो र शितसँगै चल्ने चिसो पश्चिमी हावाका कारण स्थानीयको दैनिकी पनि सुस्त हुँदै गएको छ । बजार तथा कार्यालयहरुमा सर्वसाधारणको उपस्थिति दिउँसोतिर मात्रै हुन थालेको छ ।

शुक्रबारदेखि अत्याधिक शीतलहर बढेको भन्दै कटहरिया, बैधिमाई, राजपुर, इशनाथ, वृन्दावन, देवाही गोनाही, माधव नारायण, फतुवा विजयपुर, परोहा, गरुडा र गडीमाई नगरपालिकाले आफ्नो नगर क्षेत्रको विद्यालयहरु एकसाताका लागि बिदा दिएको छ ।

सामुदायिक विद्यालयहरुको कमजोर भौतिक संरचना र फर्निचर अभावका कारण रौतहटका अधिकांश विद्यालय जाडोबाट प्रभावित बन्न पुगेका छन् ।

सधैँजसो भिडभाड हुने सरकारी कार्यालयहरुमा पनि चिसोले गर्दा सेवाग्रहीहरुको संख्यामा कमी आएको छ । बिहानै खुल्ने व्यपारिक पसल र बजारहरु पनि ढिलो गरी खुलिरहेका छन् ।

प्रकाशित : २०७८ पुष २०, मंगलवार २०:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ