महासेठ दम्पतीलाई हटाउन एमालेमा चर्को दबाब !


काठमाडौं । नेकपा एमालेमा रघुबीर महासेठ र उनकी पत्नी जुली महतोलाई नेतृत्वबाट हटाउन अध्यक्ष केपी शर्मा ओलीमाथि चर्को दवाब परेको छ ।

प्रदेश २ का पूर्व माओवादी र एमालेका इमान्दार क्रियाशील नेता, कार्यकर्ताहरुले प्रदेश ईञ्चार्ज र सचिवबाट हटाउन र महतोलाई स्थायी कमिटीबाट हटाउन जोडदार माग गरेका छन् । उनीहरुले लिखित रुपमा नै अध्यक्ष ओली समक्ष माग राखेपछि सोमबार र मंगलवार दुई दिन गम्भीर छलफल भएको छ ।

असन्तुष्ट नेताहरुकै दवाबको कारण प्रदेश २ बाट राष्ट्रिय सभाका लागि घोषणा गरिएको असर्फी भिनवारलाई हटाएर पर्साका उसमान अन्सारीलाई उम्मेदवार बनाइएको छ । महासेठले प्रदेश २ मा एमालेलाई भाँडभैलो गरेको आरोप असन्तुष्ट पक्षको छ ।

नाम सार्वजनिक नगर्ने सर्तमा एकजना असन्तुष्ट नेताले महासेठ र महतोलाई हटाएर पुराना इमान्दार नेतालाई राख्नुपर्ने अडान नछाडेकाले अध्यक्ष ओलीलाई निर्णय लिन कठिन भएको छ । असन्तुष्ट पक्षको माग सम्बोधन नभए प्रदेश २ मा एमाले धराशायी हुने उनीहरुले चेतावनी समेत दिएका छन् ।

एमाले महाधिवेशनपछि अध्यक्ष ओलीले महासेठलाई केन्द्रीय सचिव र प्रदेश २ को ईञ्चार्ज बनाएका हुन् ।महासेठ पत्नी जुली महतोलाई स्थायी कमिटी सदस्य बनाएपछि विवाद झन चर्किएको हो ।ओलीले आफ्नो नेतृत्वको सरकारमा महासेठलाई उप–प्रधान तथा परराष्ट्र मन्त्री र महतोलाई महिला,बालबालिका मन्त्री बनाएका थिए ।

महासेठले पूर्व माओवादी नेता प्रभु साह लगायतलाई विश्वासमा लिन सकेका छैनन् । बैठकमा नेता साहले पूर्व माओवादीलाई पार्टीमा शरणार्थी जस्तै बनाएको आरोप लगाएको एकजना सहभागीले बताए ।

असन्तुष्ट पक्षले महासेठ र महतोलाई जिम्मेवारीबाट नहटाइए एमालेलाई प्रदेश २ मा ठूलो हानी पुग्ने चेतावनी दिंदै अध्यक्षबाट समयमै निर्णय चाहेको धम्की दिए ।

प्रकाशित : २०७८ पुष २१, बुधबार ०६:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ