काठमाडौं । पेट्रोलियम पदार्थको मुल्यवृद्धि र दशैं तिहार जस्ता चाडबाडका कारण महंगिएको हवाई भाडा पछिल्लो ३/४ महिना यताकै सबैभन्दा सस्तो भएको छ । अहिले हवाई भाडादर कतिपय ठाउँमा बस भाडाकै हाराहारीमा आएको छ भने सिमरा, जनकपुर लगायतका ठाउँमा त बसभाडा भन्दा पनि सस्तो भएको छ ।
शुक्रवार बिहान लिएको भाडादर अनुसार शनिवारका लागि सिमरा-काठमाडौं हवाई भाडा १ हजार ६९५ रुपैयाँ मात्रै छ । जनकपुर-काठमाडौं १ हजार ७५० रुपैयाँ, पोखरा-काठमाडौं १ हजार ९९५ रुपैयाँ, चितवनबाट २ हजार ४०० रुपैयाँ मात्रै रहेको छ ।
त्यस्तै भैरहवाबाट काठमाडौं २ हजार ४९५ रुपैयाँ, भद्रपुरबाट २ हजार ६०० रुपैयाँ, विराटनगरबाट २ हजार ८०० रुपैयाँ, धनगढीबाट ३ हजार ४०० रुपैयाँ र नेपालगञ्जबाट ३ हजार ३९५ रुपैयाँ रहेको छ। बिहीवार ६ हजार ५०० रुपैयाँ रहेको सुर्खेत-काठमाडौं हवाई भाडादर भने शुक्रवार ७ हजार ५०० रुपैयाँ सम्म रहेको छ ।
किन सस्तीयो हवाई भाडा ?
पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण विदेशी पर्यटकको आगमन प्रभावित भएको छ । आन्तरिक उडानमा पनि ठूलो हिस्सा ओगट्ने पर्यटक नभएपछि पर्यटकीय क्षेत्रका गन्तव्यमा हवाई भाडा निकै नै सस्तो भएको एयरलाइन्स कम्पनीहरुले बताएका छन् ।
विदेशी पर्यटक नहुँदा नेपालीहरुले मात्रै महँगो भाडादरमा यात्रा नगर्ने भएपछि कम्पनीहरुले बस भाडाकै मूल्यमा जहाज भाडा लिएर उडान भर्न थालेका हुन् । आन्तरिक उडान गर्दै आएका बुद्ध, श्री, यति, सौर्य, गुण लगायतका एयरलाइन्स कम्पनीहरुले सार्वजनिक गरेको भाडादर सामान्य समयको भन्दा पनि कम रहेको छ ।
बसमा दुई दिन यात्रा गर्दा ३ हजार, प्लेनमा ३४००
हाल धनगढी-काठमाण्डौ चल्ने एसी बसको भाडा २ हजार ३५० रुपैयाँ छ । त्यहि रुटमा हवाई भाडा भने ३ हजार ४०० रुपैयाँ मात्रै छ । बसमा यात्रा गर्दा दुई दिन समय लाग्नुका साथै खाना र खाजा खाँदा ३ हजार देखि ३५०० कै हाराहारीमा खर्च भइहाल्छ ।
१ घण्टाको हवाई यात्रा पनि ३५०० रुपैयाँ भन्दा सस्तो भएपछि यात्रुहरुको रोजाइ हवाई यात्रा नै हुने एयरलाइन्स कम्पनीको अपेक्षा हो । त्यस्तै जनकपुर-काठमाण्डौ बस भाडा १ हजार २०० रुपैयाँ छ भने, हवाई भाडा मात्र १ हजार ७५० रुपैयाँ रहेको छ। यो रुटमा त बसमा यात्रा गर्दा हुने खाना र खाजाको खर्च जोड्दा हवाई यात्रा नै सस्तो हुने देखिन्छ ।
अफ सिजन र कोभिडका कारण घट्यो हवाई भाडा
यती एयरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौला यतिबेला वायुसेवा कम्पनीका लागि अफसिजन चलिरहेको बताउँछन् । उनका अनुसार अफसिजनमा यसैपनि यात्रुको चाप कम हुँदा भाडा घट्छ ।