पर्सामा २० घण्टाभित्र २ बच्चा मृत फेला, ४ जना पक्राउ


वीरगञ्ज । पर्सामा २० घण्टाको अवधिमा २ जना बालबालिकाको शव फेला परेको छ । वीरगन्ज महानगर र जगरनाथपुर गाउँपालिकामा शुक्रबार साँझ र शनिबार बिहान २ बालबालिकाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार वीरगन्ज महानगरपालिका १६ कञ्चनजंघा स्कुल नजिकै नयँ निर्माणाधीन घरको उत्तरतर्फको चेपमा शनिबार बिहान ११ बजे वीरगन्ज–१५ भिष्वामा डेरा गरी बस्ने सरोज कुशवाहाकी करिब १० वर्षीया छोरी रिजवाना खातुन मृत अवस्थामा फेला परेकी छन् ।

निधारमा चोट रहेको अवस्थामा बालिकाको शव फेला परेको छ । रिजवाना कुशवाहाकी झड्केलो छोरी हुन् । घटनापछि नाताभित्रकै शंकास्पद ३ जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरेको छ ।

अनुसन्धानका लागि प्रहरीले घटनास्थल र वरपर तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको थियो । यसअघि शुक्रबार साँझ साढे ४ बजे जगरनाथपुर गाउँपालिका वडा नं ६ सन्ठी बस्ने नागेश्वर पटेलका १२ वर्षीय छोरा मन्टु पटेल मृत अवस्थामा फेला परेका थिए ।

घर नजिकै पटेलको शव उखु बारीमा घाँटीमा गम्छा लपेटिएको अवस्थामा फेला परेको थियो । उनी चार दिनदेखि सम्पर्कमा थिएन भन्नेकुरा अभिभावकले प्रहरीलाई बताएका छन् । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा १ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डिएसपी खनालले बताए ।

प्रकाशित : २०७८ पुष २४, शनिबार १८:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ