जनकपुरधाम । प्रदेश २ को नाम र राजधानीको प्रस्तावमा मतदान हुने भएको छ । प्रदेश सभामुख सरोजकुमार यादवले आइतबार बोलाएको सर्वदलीय बैठकमा नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको हो ।
प्रदेशको नाम र राजधानीको प्रस्तावमा छलफल गर्न प्रदेशसभाका सभामुख यादवको अध्यक्षतामा संसदीय समिति गठन गरिएको थियो । समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुर र वीरगन्जमाथि सांसदहरूबीच छलफल सकेर संसदीय दलका नेताहरूसँग छलफल गरेको थियो ।
तर ती प्रस्तावमा सहमतिको प्रयास भने असफल भएपछि मतदानका लागि सहमति भएको हो । माघ २ गते बस्ने प्रदेशसभा बैठकमा प्रस्तावहरूमाथि छलफल गरेर ३ गते मतदान गर्ने निर्णय भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक परमेश्वर साहले जानकारी दिए ।
मतदानका लागि कुनै पनि प्रस्तावमा बहुमत नहुँदा नाम र राजधानीको प्रस्ताव पुनः अस्वीकृत हुने जोखिम छ । नाम र राजधानी तोक्न कुल सांसदको दुई तिहाइ बहुमत आवश्यक छ । जसपा, लोसपा र माओवादी केन्द्रले प्रस्ताव गरेको मधेस प्रदेशको प्रस्तावमा सांसदको संख्या ६३ छ । उनीहरूलाई आफ्नो प्रस्ताव पारित गराउन अझै ७ जना सांसद आवश्यक हुन्छ ।
अन्य प्रस्तावहरू जानकीको पक्षमा एमाले र नेकपा (एकीकृत समाजवादी)का २१ जना, १९ सांसद रहेको कांग्रेसले मिथिला भोजपुरा गरेका छन् भने कांग्रेस सांसद राजेश्वरप्रसाद साह मध्य मधेसको पक्षमा छन् ।
बैठकमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता जितेन्द्र सोनलले चालु प्रदेशसभाको अधिवेशनमा नाम र राजधानी तोक्ने सहमति भएको बताए । ‘दलका नेताहरूबीचको बैठकमा परिस्थिति जे भए पनि जारी अधिवेशनबाट नाम र राजधानी टुंग्याउने सबैको मनसाय छ,’ सोनलले भने ।