महोत्तरीको मुसहर बस्तीमा खानेपानीको अभाव, अरुको कलमा जाँदा गाली खानुपर्छ !


जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिका– ४ भटौलिया गाउँमा रहेका १०० घरपरिवारको सिङ्गै मुसहर बस्तीमा खानेपानीको अभाव रहेको छ ।

दलित मुसहर बस्तीमा एउटा पनि खानेपानी पाइप (कल) नरहेको स्थानीयवासी सिकिन्दर सदा मुसहरले बताए । उनका अनुसार सिङ्गै मुसहर बस्तीको कोही कसैको आफ्नो घरमा खानेपानी पाइप छैन ।

सबैले खानेपानी ल्याउनका लागि गाउँको सार्वजनिक स्थानमा रहेको पाइप वा बस्तीदेखि अलि टाढा रहेको विद्यालय र वडा कार्यालयको प्राङ्गणमा रहेको पाइपबाट खानेपानी ल्याउने गरेका छन् । स्थानीयवासी ६० वर्षीया जिवछी सदा मुसहरनीले आफूहरु यहाँ चार पुुस्तादेखि बस्दै आएकामा अहिलेसम्म निजी खानेपानी पाइप जोडन नसकेको बताए ।

स्थानीयवासी तेतरी सदाले १०० परिवार मुसहरसँग आफ्नो खानेपानी पाइप नरहेको अवस्थामा बस्ती नजिकै रहेको अन्य जातीको पाइपमा पानी ल्याउन जाँदा दलित भन्दै पानी भर्न नदिने, पाइपको किल्ली (नटबाल्टु) निकालेर राखिदिने र कहिलेकाँही छोइन्छ भन्दै गालीगलौजसमेत गर्ने गरेको बताए ।

स्थानीयवासी रामसखी सदाले बालबालिका पनि पानीका लागि अरुको पाइपमा जाँदा कुटपिट गरिदिने, गाली गरिदिने र बालबालिका पानी खान गएका कारण कुनै कुनै दिन अरु आफूलाई ठूला जात भन्नेसँग ठूलो झगडासमेत गर्ने गरेको बताए ।

प्रकाशित : २०७८ पुष २८, बुधबार १६:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ