विश्वकै उत्कृष्ट ब्याडमिन्टन खेलाडी बने नेपालका ‘प्रिन्स’


काठमाडौं । नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दहाल विश्व वरीयताको जुनियरतर्फ शीर्ष स्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन संघले बुधबार सार्वजनिक गरेको वरीयातामा प्रिन्स दुई स्थान माथि उक्लदै शीर्ष स्थान हासिल गर्न सफल भएका हुन् ।

पुरुष एकलतर्फ प्रिन्स शीर्ष स्थानमा रहँदा मलेसियाका जस्टिन एचओएच दोस्रो स्थानमा छन् । मलेसियाकै मोहम्मद रजिफ तेस्रो स्थानमा छन् । ‘‘नम्बर एक बन्ने मेरो ठुलो सपना थियो । त्यो आज पूरा भएको छ । एकदम खुसी लागेको छ,’’ प्रिन्सले भने, ‘‘जुनियरतर्फ नम्बर एक हुने सपना पूरा भयो । अब सिनियरतर्फ पनि नम्बर बन्नका लागि म अझ मिहिनेत गर्नेछु । अब मेरो ध्यान सिनियरतर्फ पनि नम्बर एक हुनेमा केन्द्रित हुनेछ ।’’

प्रिन्सले गत अक्टोबरमा भारतको बैंगलोरमा सम्पन्न इन्फोसिस फाउन्डेसन इन्डिया इन्टरनेसनल च्यालेन्ज–२०२१ प्रतियोगिता खेलेका थिए । त्यसमा प्रिन्सले अन्तिम–६४ मा भारतका यश योगीलाई २१–१५, ११–२१, २१–१६ को स्कोरमा हराएका थिए । अन्तिम–३२ मा भने प्रिन्स भारतकै एश शंकर मुथुसमी सुब्रमनिनसँग २१–११, २१–१९ को स्कोरमा पराजित भएका थिए ।

पुरुष युगलतर्फ पनि प्रिन्स र प्रफुल महर्जनको जोडी अन्तिम–३२ मा भारतको अरूण कार्थिक के र इशवार सुकुमारको जोडीसँग १६–२१, २१–१९, १८–२१ को स्कोरमा पराजित भएको थियो । विश्व वरीयताको जुनियरतर्फ यसअघि प्रिन्स तेस्रो स्थानमा थिए ।

 

प्रकाशित : २०७८ पुष २८, बुधबार १९:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ