टुडेखोज, जनकपुरधाम । प्रदेश २ मन्त्रिपरिषद्को आज बसेको बैठकले मधेस आन्दोलनका क्रममा सहिद भएकाहरुको परिवारलाई ३/३ लाख रुपैयाँ दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
बैठकले आन्दोलनका घाईतेहरुलाई स्वास्थ्य स्थितिका आधारमा २५ हजारदेखि ३ लाख रुपैयासम्म राहत रकम दिने निर्णय समेत गरेको हो । बैठकले तीनै चरणका मधेस आन्दोलनका क्रममा शहिद भएका ६१ जनाका परिवारलाई राहत रकम अगामी माघ ५ गते बलिदानी दिवसका अवसरमा उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले बताए ।
यसैगरी तीनैवटा मधेस आन्दोलनका क्रममा घाईते भएका ९१ जनालाई स्वास्थ्य अवस्थाका आधारमा २५ हजारदेखि ३ लाख रुपैयाँसम्म उपलब्ध गराउने निर्णय गरेको मन्त्री साहले जानकारी दिए ।
मन्त्रिपरिषद्को सोही बैठकले मुख्यमन्त्री कार्यालयबाट सञ्चालित स्वच्छता अभियानलाई बुधवार (आज)बाटै खानेपानी तथा उर्जा मन्त्रालयलाई हस्तान्तरण गर्ने निर्णय पनि गरेको छ ।