थारु वस्तीमा माघीको रौनक


धनगढी । माघ १ गतेलाई थारु समुदायले माघी पर्वका रुपमा मनाउछन् । त्यसैले पश्चिम नेपालको तराईका थारु बस्तीमा माघी पर्वको रौनक छ ।

माघी आउन एक दिन मात्र बाँकी रहँदा पश्चिम नेपालका कैलाली, कञ्चनपुर, बर्दिया लगायतका जिल्लाका थारु बस्तीमा जाँड, ढिक्री, रोटीलगायत थारु परिकार बनाउन थालिएको छ । माघीमा मघौटा, धमार झुम्रा नाचमा पनि रमाइन्छ ।

घरबाहिर रहेका सदस्यहरु पनि माघी मनाउन घर फर्कदैछन् । थारु समुदायमा माघीसँगै नयाँ वर्ष पनि सुरु हुने गर्छ । १ माघदेखि थारु संवत २६४४ सुरु हुँदैछ ।

कैलालीको धनगढी उपमहानगरपालिका९३ का श्यामु चौधरीका अनुसार नयाँ वर्षमा ‘जीता’ (बंगुर)को मासु खाने प्रचलन छ । ‘नयाँ वर्षलाई स्वागत गर्न गाउँ वस्ती आसपास नदीमा सरसफाई पनि गरिएको छ,’ चौधरीले भने, ‘ठाउँठाउँमा मेला लाग्छ । तर, यो वर्ष कोभिड संक्रमणका कारण मेलाको रौनक छैन ।

खानपिन संस्कृति
माघीमा बंगुरको, माछा, घोंगी, गङ्गेटालगायत खानाका परिकार खाने गरिन्छ । यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले आफ्ना परिवारका लागि नयाँ–नयाँ लत्ताकपडाको पनि उचित जोहो हुने गरेको कैलारी गाउँपालिका ५ का चन्द्रबहादुर चौधरीले बताए ।

थारु अगुवा माघव चौधरीका अनुसार ‘जीता’ को प्रसादसँगै रातभर जाग्रम बस्दै मघौटा नाच प्रदर्शनी गरिन्छ । यो आज राति हुन्छ । यो नाच दाङबाट कैलाली बसाइँ सरेका थारु समुदायले भित्र्याएका हुन् । अन्यत्रबाट आएका थारु समुदायले भने धमार, झुमा नाच पनि नाच्ने गर्छन् ।

प्रकाशित : २०७८ पुष ३०, शुक्रबार ०८:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ