Breaking- प्रदेश २ को नाम र राजधानी तोक्न आजैबाट सुरु हुन्छ मतदान प्रक्रिया


जनकपुरधाम । प्रदेश २ को नामकरण र स्थायी राजधानीका लागि विशेष समितिको प्रतिवेदन प्रदेश सभामा आइतवार पेश हुने भएको छ । प्रदेश सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले नाम र राजधानीमा सहमति जुटाउन सकेन् ।

प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको प्राथमिकतामा नपरहेको नाम र राजधानीको प्रस्तावलाई प्रदेश सभाबाट पारित गराउन सत्तारुढ दलहरुबीच मतभेद छ । ‘मधेश प्रदेश’नामकरण गर्न सत्तासीन जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्र सहमत छन् । प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि समर्थन जनाएको छ । तर सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले मधेश प्रदेशको विरोधगर्दै नामको छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएका छन् ।

जसपा, लोसपा र माओवादी केन्द्रले ल्याएको प्रस्तावलाई पारित गर्न ७ जना सभासदको समर्थन अपुग छ । मुख्यमन्त्री राउतले इमान्दारीपूर्ण पहल गरे त्यो पुग्ने संभावना रहेको सभासदहरु बताउँछन् । नेपाली कांग्रेसले आधिकारिक रुपमा राखेको ‘मिथिला–भोजपुरा प्रदेश’मा सो पार्टीका सभासदहरु विभाजित छन् ।राजेश्वर साह लगायत पर्साका सभासदहरुले प्रदेशको नाम ‘मध्य मधेश प्रदेश’ हुनुपर्नेमा जोड दिएका छन् ।

साहले सो प्रस्ताव प्रदेश सभामा दर्ता पनि गराएका छन् । ‘मधेश प्रदेश’को प्रस्तावलाई रोक्न नेकपा एसले राखेको ‘जानकी प्रदेश ’लाई नेकपा एमालेले पनि समर्थन गरेको छ ।तर नेकपा एसका सभासदहरु नाममा विवाद गर्ने मनस्थितिमा छैनन् । मुख्यमन्त्रीबाट सकारात्मक प्रयास भए नाममा सहमति जुट्न सक्ने नेकपा एस संसदीय दलका नेता समेत रहेका पर्यटन, उद्योग तथा वन मन्त्री सत्रुधन महतो बताउँछन् ।

‘केन्द्र र प्रदेशको गठबन्धनमा रहेका दलहरुबीच मुख्यमन्त्री राउतले इमान्दारीपूर्वक प्रयास गर्नुपर्छ’ उनले भने, मुख्यमन्त्रीले चाहे प्रदेशको नामकरणका लागि सहमति जुट्न सक्छ । प्रदेशको नामकरण र राजधानीको विषयमा मुख्यमन्त्रीले सत्तारुढ दलहरुको अलगै बैठक पनि नराखेको आरोप गठबन्धन दलका सभासदहरुको छ । तर मुख्यमन्त्री राउत भने नामकरण र राजधानी दुवै प्रस्ताव पारित हुनेमा विश्वस्त देखिएका छन् ।

‘मधेश प्रदेश’ र जनकपुरधाम राजधानीको प्रस्ताव प्रदेश सभा बैठकबाट पारित हुन्छ’ उनले भने, प्रस्ताव पारित गर्न सभासदहरु सकारात्मक छन् । प्रदेश सभामा विशेष समितिको प्रतिवेदन पेश भएपछि त्यसमाथि आइतवार नै छलफल हुने प्रदेश सभा सचिव रञ्जित कुमार यादवले जनाए । ‘नामकरण र राजधानीको प्रस्ताव उपर एकसाथ छलफल हुनेछ,’ उनले भने, छलफलको क्रममा पनि सहमति जुट्न सक्ने संभावना विद्यमान रहेको छ ।

प्रकाशित : २०७८ माघ २, आईतवार १०:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ