विद्यार्थीमाथि छुरा प्रहारः अपराधीलाई प्रहरी र गाउँपालिका अध्यक्ष यादवकै संरक्षण


जयनाथ यादव, लहान । सिरहाको नवराजपुर गाउँपालिका ४ का १५ वर्षीय किशोर रामरिझन यादवमाथि छुरा प्रहार भएको घटनाका आरोपीलाई प्रहरीले संरक्षण गरेको आरोप लागेको छ ।

स्थानीय विद्यालयको कक्षा १० मा अध्ययनरत यादवमाथि पुस २९ गते साँझ छुरा प्रहार भएको थियो । पिठ्यूमा छुरा लागेर गम्भीर घाईते उनको उपचार जिल्लामा सम्भव नभएपछि विराटनगर लगिएको थियो ।

विराटनगरमा उपचार पश्चात फर्केका उनका परिवारले आज पत्रकार सम्मेलन गरेर प्रहरीले अपराधीलाई कारबाही गर्नुको साटो संरक्षण गरिरहेको आरोप लगाएका हुन् । यादवका काका जागेश्वर यादवले भने- घटनामा संलग्न ६ जनामाथि प्रहरीमा उजुरी दिएका छौं । तर प्रहरीले उजुरी दर्ता गर्न मानेका छैन । दुई जनालाई पक्राउ गरेपनि छाडियो ।

उनले अपराधीलाई कारबाही गर्न प्रहरीले नचाहेकाले बाध्य भएर न्यायका लागि पत्रकार सम्मेलन गरेको बताए । उनले अपराधीलाई बचाउन प्रहरी नै लागेपछि आश्चर्य लागेको बताए । राजनीतिक दलको दबाबमा प्रहरी परेर अपराधीलाई संरक्षण गरिरहेको उनको गुनासो छ ।

पीडित विद्यार्थीका नातामा दाई पर्ने दिपेन्द्र यादवले नेपाली काँग्रेसका नेता र सोही पार्टीबाट निर्वाचित रहेको गाउँपालिका प्रमुख विश्वमोहन यादवले अपराधीलाई बचाउन लागिपरेको बताए । उनी भन्छन्- अपराधी जोही रहेपनि प्रहरीले कारबाही गर्नुपर्छ ।

छुरा प्रहारबाट घाईते यादव अहिले पनि नियमित औषधी खाइरहेका छन् । उनको पिठ्यूको घाउँ निको भएको छैन । उनी भन्छन्- नवराजपुरमै भोज खाएर दुई जना घर फर्किदै थिए । विद्यालय नजिक आएपछि अचानक ८र१० जना आएर मोटरसाइकलबाट उतारे । र सन्तोष नामको व्यक्तिले मलाई छुरा हान्यो । म बेहोस भएर त्यहीँ लडे । त्यसपछि के भयो, थाहा छैन ।

उनका अनुसार विद्यालय व्यवस्थापन समितिको चुनाव हुने भएकाले पुस २९ गते विद्यालयमा विद्यार्थीको नामांकन भइरहेको थियो । गलत ढंगले गरिरहेको नामांकनको विरोधमा मैले बोलेपछि विनोद यादव लगायतले धम्की दिएको थियो । त्यहीँ दिन ममाथि छुरा प्रहार भयो ।

प्रकाशित : २०७८ माघ २, आईतवार १८:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ