प्रदेश २ : नाम र राजधानी विषयमा छलफल जारी, केहिबेरमा मतदान हुने


जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठकमा नाम र राजधानी तोक्ने विषयमा छलफल जारी छ । आज ११ बजे बोलाएपनि डेढ घण्टा ढिलोगरी सुरु भएको प्रदेशसभा बैठकमा छलफल जारी छ ।

छलफलपश्चात प्रदेशको नाम र राजधानी टुंगो लगाउन मतदान हुने कार्यसूची रहेको छ । प्रदेशसभा कार्यसूचीअनुसार पहिले राजधानी र त्यसपछि नामका लागि मतदान हुनेछ ।

आजको प्रदेशसभा बैठकमा प्रदेश सांसद परमेश्वर साह, रवीन्द्र बैठा, उपेन्द्रप्रसाद कुशवाहा, शारदा देवी र भरतप्रसाद साहले प्रस्ताव गरेको राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम राजमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) तोक्ने प्रस्ताव परमेश्वर साहले पेश गर्ने कार्यसूची रहेको छ।

त्यस्तै सिंगासन सा कलवारले प्रदेशको राजधानी वीरगञ्ज (पोखरिया नपा, सखुवा प्रसौनी गापा, पर्सागढी नपा, जीतपुर सिमरा निजगढ हुँदै सिम्रौनगढ) तोक्ने प्रस्ताव पेश गर्नेछन् । त्यस्तै राजेश्वरप्रसाद शाले प्रदेशको राजधानी वीरगञ्ज (वीरगञ्ज महानगरपालिका) तोक्ने प्रस्ताव पारित गराउन पेश गर्नेछ ।

राजधानीपश्चात शैलेन्द्रकुमार यादव र भरतप्रसाद साह प्रस्तावक रहेको नाम मधेस प्रदेश कायम गर्ने प्रस्ताव पारित गराउन शैलेन्द्रकुमार यादवले पेश गर्नेछन् । प्रमोदकुमार यादवले प्रदेशको नामकरण जानकी प्रदेश कायम गर्ने प्रस्ताव पारित गराउन प्रस्ताव पेश गर्नेछन् ।

त्यस्तै शिवचन्द्र चौधरीले प्रदेशको नामकरण मिथिला भोजपुरा कायम गर्ने प्रस्ताव पारित गराउन प्रस्ताव पेश गर्नेछन् भने राजेश्वर प्रसाद शाले प्रदेशको नामकरण मध्य मधेस प्रदेश कायम गर्ने प्रस्ताव पारित गराउन प्रस्ताव पेश गर्नेछन् ।

प्रकाशित : २०७८ माघ ३, सोमबार १३:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ