पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द


काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ ।

पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र गर्ने गरी भक्तजनका लागि बन्द गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।

पशुपतिनाथ मन्दिरमा हुने विशेष पूजा पनि आजैदेखि बन्द गरिएको छ । पशुपतिनाथ मन्दिरमा नित्य र नैमित्तिक पूजा बाहेकका सबै धार्मिक क्रियाकलाप नेपाल सरकारको निर्णय अनुसार बन्द गरिएको उनले सुनाए ।

अर्को सूचना नभएसम्मका लागि पशुपति क्षेत्रका गुह्येश्वरी, चन्द्रविनायकलगायत भक्तजनको भीडभाड बढी हुने मन्दिरमा पनि नित्य र नैमित्तिक पूजामात्र गरिने छ । अरु धार्मिक क्रियाकलाप बन्द गरिएको छ ।

विसं २०७६ चैत पहिलो साता नेपाल पहिलोपटक कोरोना सङ्क्रमण भेटिएपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । त्यसबेला नौ महिनापछि अर्थात् २०७७ पुस १ गते देखिमात्र दर्शनार्थीका लागि मन्दिर खुला गरिएको थियो ।

प्रकाशित : २०७८ माघ ५, बुधबार १२:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ