मन्त्री रेणु यादवले दिइन् सिके राउतको हत्या गर्ने धम्की


जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) की नेतृ तथा संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले विवादित अभिव्यक्ति दिएकी छन् ।

हिजो बुधबार रौतहट सदरमुकाम गौरमा बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गौर घटनाको पुनरावृत्ति गर्ने अभिव्यक्ति दिएकी हुन् । पदीय मर्यादा विपरीत उनले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई गौर काण्ड भएकै राइस मिलमा घेरेर ह त्या गर्ने चेतावनी दिएकी छन् ।

‘गौर नरसंहारको इतिहास राइस मिल जिवीत छ। गौरमा फँणा देखाउने प्रयास नगर,’ राउतलाई चेतावनी दिँदै मन्त्री यादवले भनिन्, ‘यहाँ लाठी भाँच्न मानिसले जानेका छन् । तुफानसँग टकराउने प्रयास नगर ।’

हिन्दी भाषामा भाषण गर्दै फिल्मी शैलीमा उनले भनिन्, ‘तुफानसँग टकराउने प्रयास गर्यो भने त्यहि हालत हुन्छ । जुन गौरको राइस मिलमा भएको थियो । त्यो इतिहासलाई राउतले नभुलुन् । नत्र तपाइँको कार्यकर्ता मारिन्छन् र तपाइलाई पनि घेराबन्दी गरेर ह त्या हुन्छ । सतर्क रहनुस् ।’

मन्त्री यादव बुधबार गौरमा कार्यक्रममा सहभागि हुन पुगेका बेला जनमत पार्टीका कार्यकर्ताले किसानको समस्या समाधान गर भन्दै नाराजुलुस गरेका थिए । उनीहरुले मन्त्री यादवलाई कार्यक्रम स्थल जान पनि अवरोध गरेका थिए।

सुरक्षा घेरामा कार्यक्रम स्थल पुगेकी मन्त्री यादवले सभालाई सम्बोधनका क्रममा सिके राउतविरुद्ध यस्तो अभिव्यक्ति दिएकी हुन् । उनले बलिदानी दिवस भएकै कारण गौरमा बुधबार केहि नगरेको संकेत समेत गरिन् ।

मन्त्री यादवले सिके राउतलाई हिम्मत भए सिंहदरबार घेर्न चुनौती दिइन् । ‘यदि तपाइँको कलेजोमा ताकत छ । गाई, भैँसीको दुध खानु भएको छ भने गएर सिंह दरबार घेराउ गर्नुस् । घरमा फासफुस हरियो साग सब्जी खानु भएको होला,’ मन्त्री यादवले राउतलाई चेतावनी दिँदै भनिन्, ‘तर जसको नसमा गाइ र भैँसीको दुधको रगतको ताकत छ उसलाइ फासफुस कहिल्यै पनि हुँदैन । लड्ने प्रयास नगर्दा वेश हुन्छ ।’

के हो गौर घटना ?
७ चैत २०६३ को दिन गौरको राइस मिलमा तत्कालीन माओवादी समर्थित मधेसी राष्ट्रिय मुक्ति मोर्चा र उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन मधेसी जनअधिकार फोरमले एकै स्थानमा छुट्टा छुट्टै मञ्च बनाएर कार्यक्रम गरेका थिए ।

कार्यक्रम गर्ने विषयमा विवाद हुँदा भएको झडपमा २७ जनाको हत्या भएको घटनालाई गौर घटना भनेर चिनिन्छ । उक्त घटनामा तत्कालीन माओवादीका २७ जना कार्यकर्ताको ह त्या भएको थियो ।

प्रकाशित : २०७८ माघ ६, बिहीबार १०:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ