बर्जु महोत्सवको भाँडभैलोपछि रौतहट आउँदै भोजपुरी स्टार खेसरीलाल


जनकपुरधाम । सुनसरीको बर्जु महोत्सवमा भाग लिन रोकिएका भोजपुरी स्टार खेसरीलाल यादवले अर्को कार्यक्रमका लागि सम्झौता गरेका छन् । रौतहटमा फागुनमा आयोजना हुने मदानी महोत्सवमा आयोजकले उनलाई निम्त्याएको छ ।

कोरोनाका कारण जिल्ला प्रशासनले रोक लगाएपछि यादव बर्जु महोत्सवमा उपस्थित हुन सकेका थिएनन् । उनी नआएपछि दर्शकले उपद्रो मच्चाउँदै चारवटा गाडी जलाइदिएका थिए । यादवले यसको क्षतिपूर्ति आफूले पाउनुपर्ने माग गरिरहेका छन् ।

फागुन १७ गतेबाट आयोजना हुने भनिएको मदानी महोत्सवको पनि निश्चितता भने छैन । मौलापुरकी नगरप्रमुख रिनाकुमारी साहले खेसरीलालसँग सम्झौता भइसके पनि कोरोना साम्य भएन भने महोत्सव स्थगित हुन सक्ने बताइन् ।

‘अझै एक महिनाभन्दा बढी समय छ । त्यतिञ्जेल यदि कोरोना महामारी रोकियो भने महोत्सव हुन्छ र उहाँ आउनुहुन्छ । नत्र स्थगित गरिन्छ,’ उनले भनिन् । कार्यक्रम अनिश्चित भए पनि खेसरीलालले आफूले पाउने पारिश्रमिकको आधा रकम लिइसकेका छन् ।

साहले बाँकी पारिश्रमिक कार्यक्रमपछि दिने गरी सम्झौता गरिएको बताइन् । सम्झौताको रकम भने उनले खुलाइनन् । यसअघि बर्जु महोत्सवमा उनलाई आयोजकले १६ लाख रुपैयाँ अग्रिम दिएर बोलाएका थिए ।

प्रकाशित : २०७८ माघ ६, बिहीबार १८:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ